राष्ट्रिय राजमार्गका खाल्डाखुल्डी पुर्दै सडक विभाग

 असोज २६, २०८० शुक्रबार १२:५४:० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुर्नेलगायतका मर्मतकाे काम शुरु गरेको छ । 

वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएका कारण मर्मत गर्न शुरु गरिएको विभागले जनाएको छ । मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) नातिबाबु खड्काले बताउनुभयो । साउनदेखि नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर तयारी अवस्थामा बस्न निर्देशन दिइएको उहाँले बताउनुभयो । 

विभागले बर्सेनि वर्षा सकिनासाथ मर्मत गर्ने गरेको छ । वर्षा सकिनासाथ र अर्को वर्षा शुरु हुनु पहिले मर्मतको काम बढी हुन्छ । उहाँले भन्नुभयो, 'वर्षा सकिनासाथ दशैँ पनि पर्छ । तर मौसमका हिसाबले पनि वर्षा सकिएपछि मर्मत गर्नु उपयुक्त हुन्छ ।'

यो वर्ष दशैँ केही ढिला गरी रहेको छ । मर्मतको काम बर्सेनि गर्ने समयमा गर्दा पनि दशैँमा सडक राम्रो अवस्थामा पुग्ने उहाँले बताउनुभयो । मर्मतको काम शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'सबैतिर भइरहेको रिपोर्ट आइरहेको छ दशैँ अघि सबैतिर भइसक्छ होला ।' 

राष्ट्रिय राजमार्गमा सडक बोर्डले बजेट व्यवस्थापन गर्ने र सडक विभागअन्तर्गत रहेका ३५ डिभिजनले नियमित मर्मत गर्छन् । त्यहीअनुसार यो वर्ष पनि असार महिनामै ठेक्का भएको थियो । यो वर्ष बोर्डका लागि सरकारले रकम विनियोजन नगरेका कारणले अहिले बजेटको समस्या रहेको सिनियर डिभिजनल इञ्जिनियर खड्काले बताउनुभयो । कतिपय काममा खर्च तुरुन्त हुने र भुक्तानी तुरुन्त दिनुपर्ने हुन्छ । उहाँले भन्नुभयो, 'पुरानो दायित्व नै सबै भुक्तानी भइसकेको छैन ।' 

सडक विभागले मातहतका डिभिजन सडक कार्यालयलाई तुरुन्त गर्न निर्देशन दिइएको र कार्ययोजना पनि बनेको थियो । काम शुरु भए पनि भने जस्तो प्रगति भइनसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'तुरुन्त भुक्तानी दिनसक्ने अवस्था नभएसम्म समस्या रहेको छ ।' 

वर्षाको समयमा देशभरका धेरै सडकमा क्षति भए पनि अहिले ती सबै चालु भइसकेको विभागले जनाइएको छ । कतिपय सडकमा ठूलो क्षति रहेकामा तीनमा सडक खुलाइसकिएको र सडक मर्मतको काम गर्दै जाने विभागको योजना रहेको पाइन्छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया