कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथ, २ जना मन्त्री नियुक्त

 असोज २८, २०८० आइतबार १५:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनुअघि कार्कीले दुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।

कांग्रेसका सांसद शम्शेर राई र एमालेका संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । दुवै जना मन्त्री इलामका हुनुहुन्छ । मुख्यमन्त्री कार्कीसहित दुवै जना मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ जना प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले केदार कार्कीलाई हिजो शनिवार बिहान मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएपछि उहाँलाई गठबन्धन दलहरूले पनि समर्थन गर्ने बताएका छन् ।

संविधानको धारा १ सय ६८ को उपधारा ३ अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १ सय ६८ को उपधारा ५ अन्तर्गत सरकार गठनको आह्वान गर्नुभएको थियो । जसअनुसार कार्कीले कांग्रेसमा विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको थियो । कार्की कोशी प्रदेशको आठौँ मुख्यमन्त्री बन्नुभएको हो । कोशीमा १ वर्षको अवधिमा ५ औँ पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया