रसुवागढी भन्सार कार्यालयकाे भवन निर्माण अन्तिम चरणमा

 कात्तिक ८, २०८० बुधबार १३:१:४ | रासस
unn.prixa.net

तस्बिर : रासस

रसुवा - नेपालको उत्तरीनाका रसुवागढीमा रहेकाे सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ। एकै ठाउँबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण शुरू भएको एकीकृत भन्सारको याे भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढिरहेको छ ।

सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै निर्माण भइसकेको छ । भौगोलिक विकटताका कारण वर्षायाममा दैनिकजसो सडक अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असहज र कार्यप्रगतिको अनुपातमा समयसापेक्ष रकम भुक्तानी नहुनुजस्ता कारणले निर्माणमा केही ढिलाइ हुँदै गएको निर्माणसँग सम्बन्धित व्यक्तिले बताएका छन् ।

एकीकृत भन्सार तथा सुरक्षा पोष्ट निर्माण, विसं २०७२ सालको भूकम्पले क्षति बनाएको ऐतिहासिक रसुवागढी पर्खालको पुनःनिर्माण, दैनिक काम सञ्चालनको लागि मितेरी पुल छेउमा फ्रिफेव भवन निर्माण, हेल्थ डेस्कसमेतका संरचनाको व्यवस्थापन रसुवागढीभन्दा केही तल निर्माण भएको १११ मेगावाट जलविद्युतकाे ड्यामजस्ता संरचना र नेपाल घुम्ने चिनियाँ पर्यटकको आगमन तथा सामान आयात निर्यातका लागि मितेरी पुलबाट आवतजावत गरिरहने ट्रक कन्टेनरका चहलपहलले रसुवागढीको चहलपहल बढ्दै गएको छ । 

यस्तै, टिमुरेको भोटेकोशी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहको आधाजसो निर्माण, टिमुरे तथा घट्टेखोला क्षेत्रमा निजीस्तरका होटल निर्माण, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको भवन निर्माणजस्ता कार्यले टिमुरेदेखि रसुवागढीसम्मको रौनक निकै बढेको स्थानीय समाजसेवी सुनामओदी तामाङले जानकारी दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको पूर्वाधार विकास योजना, १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाबाट पीडित बासिन्दालाई सहयोग योजनाजस्ता विकास कार्यक्रमले क्रमिकरूपमा टिमुरे, घट्टेखोला र रसुवागढीको मुहार फेरिँदै गएको र अबको दुई/चार वर्षमा सबै प्रकारका संरचना बनिसक्ने आफूहरू आशावादी उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया