महालक्ष्मीको पूजा आराधनासहित आजदेखि बडादशैँ पर्व समापन हुँदै

 कात्तिक ११, २०८० शनिबार ६:३६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ ।

शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम भने हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि हिजो नै सकिएको छ । जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाइएको छ ।

व्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ । तर, आज टीका लगाउनेले जमरा लगाउँदैनन् । दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ  । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजा, आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ ।

यस्तै, कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि शुरु गरिँदैछ । आकाशदीपदान पनि आजै बेलुकादेखि शुरु गरिने छ । 
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया