नेपालमा साढे २ खर्ब रुपैयाँ लगानी गर्न यूके एक्स्पोर्ट फाइनान्स तयार

 कात्तिक १५, २०८० बुधबार १६:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गर्नुभएकाे छ ।

नेपालको जलविद्युत् लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनमा रहेकाे नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले यस्ताे आग्रह गर्नुभएकाे हाे । सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूका बारेमा जानकारी दिँदै कार्कीले नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गर्नुभएकाे थियाे ।

त्यसैगरी ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत् परियोजनाहरूमा लगानीको ठूलो अवसर भएको बताउनुभयाे । भारत तथा चीनसँग विद्युत् विकास तथा खरिदका लागि भएका सम्झौता एवम् जलविद्युत् विकासका लागि नेपाल सरकारको आउँदाे योजनाको बारेमा उल्लेख गर्दै देवले यसका लागि यो क्षेत्रमा ठूलो पूँजीको आवश्यकता र अवसर रहेको उल्लेख गर्नुभयाे ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रूपान्तरणका लागि ठूलो वित्तीय स्राेतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक स्राेत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभयाे ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्राेतहरूमार्फत बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताउनुभयाे । नेपालले विद्युत् व्यापारका लागि छिमेकी देश भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने तयारी गरेको बताउँदै राजदूत आचार्यले नेपालको जलविद्युतबाट दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयाे ।

सम्मेलनमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका प्रबन्ध निर्देशक कोलिन बक्ली र डोल्मा इम्प्याक्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफूले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको बताउनुभयाे ।

यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ बिलियन पाउन्ड (२ खर्ब ४२ अर्ब रुपैयाँ) सम्म लगानी गर्न तयार रहेको बताउनुभयाे ।

नेपाल र बेलायतबीच मैत्री सन्धि भएको १०० वर्ष पूरा भएको अवसरमा आयोजित सममेलनमा इप्पानका अध्यक्ष कार्कीसहित उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी हुनुभएकाे थियाे । त्यस्तै ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी र बुद्धिजीवीको समेत सम्मेलनमा सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया