दूधकोशीमा लगानी गर्ने एसियाली विकास बैंकको प्रतिबद्धता

 कात्तिक १६, २०८० बिहीबार १५:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसियाली विकास बैंक (एडीबी) ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले हिजाे बुधवार आयोजनाको स्थलगत निरीक्षण गरेको छ । टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत् गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा पालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा महानिर्देशक सुब्रमण्यमले आयोजना अगाडि बढाउन उच्च तहबाट भएको यो अन्तिम निरीक्षण भएको भन्दै एडीबीको नेतृत्वमा जतिसक्दो छिटो वित्तीय व्यवस्थापन गर्न लागिएको बताउनुभयो । आयोजनालाई स्थानीयवासीबाट स्वीकार्ययता रहेको उल्लेख गर्दै उहाँले ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जति सक्दो छिटो टुङ्गो लगाएर निर्माणमा लैजानुपर्ने बताउनुभयो ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (झन्डै २ खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ । यसमध्ये १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाहरूबाट आयोजनामा १ अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडीबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।

एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले निर्णय प्रक्रियालाई तीव्रता दिन लगनशीलताका साथ काम गरिरहेको र नेपाल सरकारसँग बारम्बार वार्तामा संलग्न रहेको बताउनुभयो । उहाँले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना 'मेगा प्रोजेक्ट' र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध आयोजना भएको भन्दै स्थानीय समुदायमा धैर्यता राख्न आग्रह गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युत् प्रणालीका लागि दूधकोशी महत्त्वपूर्ण आयोजना भएकाले एक वर्षभित्रमा (सन् २०२४ डिसेम्बर) एडीबीको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताउनुभयो । यसका लागि अहिले प्राविधिक, वातावरणीय र सामाजिक विषयहरूलाई अन्तिम रूप दिने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा पालिकाका जनप्रतिनिधिले आयोजना अगाडि बढ्न नसक्दा स्थानीय रूपमा विकास निर्माणका क्रियाकलाप ठप्प भएकाले आयोजनाका विषयमा रहेको अलमल तत्काल हटाउन आग्रह गरेका थिए । उनीहरूले आयोजनालाई अगाडि बढाउन स्थानीय रूपमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा ओखलढुङ्गाकाे चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले आयोजनाको लामो अध्ययन चरणलाई तीव्रता दिई जग्गाको मुआब्जा वितरण र निर्माण कार्य तत्काल थालनी गर्नुपर्ने धारणा राख्नुभयो । शर्माले यस क्षेत्र भौगोलिक रूपमा दुर्गम तथा आर्थिक रूपमा अविकसित रहेको र यसै आयोजनाका कारण पुल, सडक निर्माण जस्ता पूर्वाधार विकासका विभिन्न आयोजनाहरू ठप्प भएकाले बाहिरी बसाइँसराइको दर बढ्दै गएको चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस आयोजनालाई सफल पार्न पालिकाकाे सम्पूर्ण सहयोग रहेको बताउनुभयो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले स्थानीयवासीकाे लामो समयको प्रतिक्षाको अन्त्य हुने विश्वास व्यक्त गर्दै यो आयोजनाको काम चाँडो शुरु हुने विश्वास व्यक्त गर्नुभयो । मेयर राईले हलेसी तुवाचुङ नगरपालिका र खोटाङमा रहेको बसाइँसराइको प्रवृत्तिबारे जानकारी दिँदै आयोजना तत्काल शुरु भए बसाइँसराइको दरमा कमी आउन सक्ने सङ्केत गर्नुभयो ।

खोटाङको रावबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले आयोजना छिट्टै शुरु हुनेमा आफू पनि विश्वस्त रहेको बताउनुभयो । उहाँले आयोजनालाई प्रभावित जिल्लाका हरेक व्यक्तिले सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले आयोजनाको ऐतिहासिक सन्दर्भ, मुख्य प्रस्तावित संरचना तथा आयोजनाको प्रगतिको वर्तमान अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले आयोजनाको काम शुरु गर्न आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्दै एडीबीबाट चाँडोभन्दा चाँडो आर्थिक सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । गुरुङले आयोजनाले पहुँच सडक, पुल र अन्य सम्बन्धित पूर्वाधार निर्माण र मर्मत जस्ता अन्य विभिन्न गतिविधिहरू समेट्ने उल्लेख गर्नुभयो ।

आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुनेछन् । जसमध्ये २३८ घरधुरी पूर्ण २ हजार ९०१ घरधुरी आंशिक रूपमा प्रभावित हुनेछन् । आयोजनाका लागि झन्डै ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसमध्ये सुक्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण अवधि ७ वर्षको रहेको छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया