कांग्रेसमा पहिलाजस्ताे गुनासाे छैन : सभापति देउवा

 कात्तिक १७, २०८० शुक्रबार १८:३८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाग्लुङले आज शुक्रवार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको दाबी गर्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गर्नुभयो ।

देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राख्नुभयो । ‘नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वाभाविक मानेका छाैँ’, उहाँले भन्नुभयो, ‘वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्नु पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छाैँ ।’

सभापति देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप बलियाे हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद पक्ष रहेको बताउनुभयो । वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप बलियाे हुने बताउँदै उहाँले जिल्ला सम्मेलन आयोजना गर्ने बाग्लुङ कांग्रेसलाई धन्यवाद दिनुभयो । उहाँले पछिल्लो समय बाग्लुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गर्नुभयो । कांग्रेस विकास र समृद्धिको पक्षमा सधैँ रहने बताउँदै उहाँले राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने उल्लेख गर्नुभयाे ।

देउवाले बाग्लुङमा कांग्रेसले पालिका र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गर्नुभएको थियो । त्यस अवसरमा उहाँले शहीद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । जिल्ला सम्मेलनमा दुई हजार जना नेता तथा कार्यकर्ता सहभागी थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताउनुभयो । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नुपर्ने भन्दै उहाँले नेताहरू पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताउनुभयो । उहाँले देश सङ्घीय संरचनामा गइसकेपछि प्रदेश र पालिकाले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने धारणा राख्नुभयो । नेता सिटौलाले कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको समेत बताउनुभयो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया