भूकम्प प्रभावित क्षेत्रमा राहतको अभाव : पहुँच हुने एउटैले तीन/चार वटासम्म त्रिपाल पाए, पहुँच नहुने रित्तै

 कात्तिक २४, २०८० शुक्रबार ८:१०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भूकम्प प्रभावित क्षेत्रमा राहतको अभाव देखिएको छ । गएको शुक्रवार मध्यराति भूकम्प गएको जाजरकोट र रुकुम पश्चिमका प्रभावित धेरैजसोले अहिलेसम्म एउटा त्रिपाल समेत पाउन सकेका छैनन्। कतिपय ठाउँमा त्रिपाल, ब्लाङ्केट लगायतका राहत सामग्री थोरै पुगेको छ भने कतिपय ठाउँमा पुगेका सामग्री पनि पहुँच भएकाले मात्रै  पाएका त्यहाँ रहेका उज्यालो सहकर्मीले बताएका छन् ।

जाजरकोटका उज्यालो सहकर्मी बालकुमार शर्माका अनुसार राजनीतिक पहुँच भएकाहरु एउटैले तीन/चार वटा पाल पाउँदा नहुनेहरु खुला आकाशमुनि चिसोमा छन् । उनीहरुले चिसोबाट जोगिनका लागि पाललगायत न्यानो कपडा वितरण गर्न माग गरेका छन् ।

कुशे गाउँपालिकाका वडा नम्बर ५ मा आठ सय घरधुरी प्रभावित रहेकोमा जम्मा २ सय ६० वटा पाल वितरण गरिएको छ । अन्य ठाउँको अवस्था पनि उस्तै छ ।

रुकुम पश्चिममा पनि पाल, ब्लाङ्केटलगायतका सामग्रीको अभाव रहेको त्यहाँका उज्यालो सहकर्मी राजु लामिछानेले जानकारी दिनुभयो । राहत वितरणमा सन्तुलन मिलाउन नसक्दा र आवश्यक परेकाले राहत नपाउँदा समस्या झन् बढ्दो छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र जाजरकोटले प्राप्त भएका पाललगायत राहतका सामग्री प्रभावितलाई बाँडिरहेको जनाएको छ ।  तर, केहीले राहत पाए पनि दुर्गम क्षेत्रका धेरैले राहत पाएका छैनन् ।  

यस्तै, भूकम्प प्रभावित क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले बेलैमा तातो न्यानोको व्यवस्था गर्न मौसमविद्ले सुझाव दिएका छन् । खुला क्षेत्रमा बसिरहेका उनीहरुलाई  वर्षा र हिमपातले थप समस्यामा पार्नसक्ने भन्दै तत्काल तातो न्यानो कपडाको व्यवस्था गर्न मौसमविद् शान्ति कँडेलको सुझाव छ । एक हप्तादेखि खुला ठाउँमा रहेका भूकम्प पीडितहरुलाई चिसोले थप असर पार्न सक्ने देखिएको छ ।

चिसो र खानपान नमिल्दा कतिपय प्रभावित बिरामी पर्न थालेका छन् । धेरैजसोलाई रुघाखोकी लागेको छ । चिसोका कारण सुत्केरी, गर्भवती, दीर्घरोगी र बालबालिका धेरै प्रभावित भएका छन् । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया