जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको ज्यान गयो

 मंसिर १, २०८० शुक्रबार ८:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर, रासस

जाजरकाेट – जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो ।

घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको अस्ति बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् । कार्की र सिंह दमका बिरामी हुनुहुन्थ्यो । यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित हुनुहुन्थ्यो ।

भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन थालेको छ । ओढ्ने कपडा सबै घरमा पुरिएर काम नलाग्ने भएको र नयाँ किन्न र जोहो गर्न नसकेको बारेकोटका निमबहादुर नेपालीले गुनासाे गर्नुभयाे ।

भूकम्प पीडितलाई तत्कालै पाल/टेन्टको व्यवस्थापन भए पनि अब न्यानो कपडा, खाद्यान्न र अस्थायी भए पनि बसोबासको व्यवस्थापन महत्त्वपूर्ण भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार चिसो बढ्न थालेसँगै पीडितमा स्वास्थ्य समस्या देखिने जोखिम भएकाले आवश्यक तयारीको काम थालिएको छ । उहाँका अनुसार यो महिनाभित्र अस्थायी आवास बनाएर पीडितको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढेको छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया