एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
म्याग्दी – हेमन्त ऋतुको शुरुवातसँगै आकाश छ्याङ्गै उघ्रिएको छ । पहारिलो घामको स्पर्शले कलकलाउँदो प्रकृतिमा नयाँ रौनक थपिएको छ । उत्तरपट्टि सेता हिमाल अत्यन्त मनमोहक देखिन थालेका छन् । पर्यटकीयस्थलमा पर्यटकहरू रमाइहेका भए पनि म्याग्दीका गाउँबस्तीहरू भने सुनसान भएका छन् ।
दशैँ–तिहारजस्ता चाडपर्व मनाउन लामो बिदामा गाउँ आएकाहरू आ–आफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएकाहरू दशैँ–तिहार मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएकाहरू धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेका मङ्गला गाउँपालिका–५ छिसबाङका विकल सेनले बताउनुभयो ।
‘केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशमा रहेका आफन्तहरूसँग भेटघाट, रमाइलोले दिनहरू बितेको पत्तै भएन’, उहाँले भन्नुभयो, ‘चाडपर्व सकिएसँगै गाउँ आएकाहरू आ–आफ्नो कार्यक्षेत्रमा फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि सुनसान र विरक्तलाग्दो हुन थालेको छ ।’
म्याग्दीका छ वटै पालिकाका ग्रामीण क्षेत्रमा धान, कोदो थन्काएर गहुँ छर्ने, आलु रोप्ने याम शुरु भएको छ । अहिले गाउँमा मानिसहरू अत्यन्त कम छन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् । मालिका गाउँपालिका–६ की देवी घर्तीले भन्नुभयो, ‘दशैँ–तिहारको बेला गाउँमा जत्तिको रमाइलो केही भएन । चाडपर्व सकिएसँगै गाउँ खाली हुन थालेको छ । अहिले गाउँमा युवा पुस्तालाई देख्नै मुस्किल पर्छ । बूढाबूढी र विद्यालय जाने उमेरका बालबालिकाबाहेक अरू गाउँमा देखिँदैनन् ।’
‘यहाँका ग्रामीण क्षेत्रका धेरैजसो मानिस पोखरा, काठमाण्डौ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँसराइ गरेर गएका छन् । युवाहरू विदेश छन् । हिजोआज गाउँमा बस्नेको सङ्ख्या निकै कम हुँदै गएको छ’, मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले भन्नुभयो ।
अहिले सहरको सेवा सुविधा बिस्तारै गाउँमा पनि पुग्न थालेको छ । सबै गाउँमा यातायातको पहुँच छ । शिक्षा, स्वास्थ्य र सञ्चारको पनि राम्रो सुविधा गाउँमा भए पनि युवा पुस्ता सहर केन्द्रित हुन थालेपछि विकास र सुविधाको उपयोग गर्नेहरूसमेत नपाइने अवस्था उत्पन्न हुन थालेको मालिका–२ की मीना पुनले बताउनुभयो । ‘गाउँमा पुगेको सेवा सुविधाभन्दा थप सेवा सुविधा खोज्दै धेरैजसो बजार झर्दा गाउँमा बूढापाका र बालबालिका मात्रै छन्’, उहाँले भन्नुभयो, ‘बिस्तारै गाउँ रित्तिँदै जान थालेको छ । दशैँ–तिहारजस्ता ठूला चाडपर्वमा केही दिन रमाइलो हुन्छ, त्यसपछि फेरि गाउँबस्ती सुनसान हुन थालेका छन् ।’
चाडपर्वले अपनत्वको बोध गराउने हुँदा सबै मानिसहरू आफ्नै जस्ता लाग्ने पुनको भनाइ थियो । वर्षाैँदेखि टाढा रहेका आफन्तसँगको मिलन निकै रमाइलो हुने उहाँले बताउनुभयो ।
‘दशैँको फूलपातीको दिनदेखि तिहारको भोलिपल्टसम्म गाउँघरमा जता गए पनि आफन्त भेटिन्थे । तिहार सकिएपछि वरपरका छरछिमेकी सबै बजार झरे, दशैँ–तिहार मनाउन विदेशबाट बिदा लिएर आएकाहरू पनि फर्किए । त्यसपछि गाउँबस्ती सुनसान हुन थालेका छन्’, दरबाङका मीन सुनारले भन्नुभयो ।
पश्चिम म्याग्दीका धेरैजसो ठाउँबाट सहर र तराई झर्नेको सङ्ख्या धेरै रहेको स्थानीय रणबहादुर सिउथानीले बताउनुभयो । ‘बसाइँसराइ गरेर तराई झरेकाहरू दशैँ–तिहार र कूल पूजाका लागि गाउँ उक्लिने गर्छन्’, उहाँले भन्नुभयो, ‘दशैँ–तिहारभरि गाउँमा चहलपहल भए पनि अहिले घरहरू खाली हुँदै गएका छन् ।’ गाउँमा रोजगारको राम्रो अवसर र सेवा सुविधा नहुँदा धेरैले सहर बजार र सुविधा सम्पन्न ठाउँ खोज्ने सिउथानीको भनाइ छ ।
एक दशक अगाडिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै हुने गरेका भन्दै अचेल हुने खानेहरू सबै बजार झर्न थालेका देवीस्थानका पदम बुढाले बताउनुभयो । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमारामा परिणत हुँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।