एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) को आयोजकले भाेलि शुक्रवारदेखि शुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबलमा एक पटक फेरि दर्शकको उपस्थितिलाई बाक्लो बनाउने लक्ष्य रहेको बताएको छ । नेपाली फुटबलको पहिलो फ्रेन्चाइज प्रतिस्पर्धा एनएसएलको दोस्रो संस्करणदेखि नाै वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
आज बुधवार एनएसएलको आयोजकले काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणलाई उच्चस्तरकाे आयोजनामा लैजान प्रयत्न गर्ने बताएको छ । एनएसलको पहिलो आयोजना दुई वर्षअघि सम्पन्न भएको थियो । कोरोना महामारीका कारण पहिलो संस्करण बन्द रङ्शालामा सम्पन्न हुन पुग्यो ।
त्यसैले दोस्रो संस्करणमा नेपाली समर्थकलाई घरेलु फुटबलमा नयाँ अनुभूति दिन प्रयास गर्ने आयोजकको विश्वास छ । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) का निर्देशक श्रेयन्स कार्कीले ठूलो आर्थिक चुनौतीकाबीच पनि फ्रेन्चाइज टोलीहरूको सहयोग र आमसमर्थकको चासोका कारण दोस्रो संस्करणलाई भव्य बनाउने बताए । उनले एनएसएल नेपाली फुटबलको शीर्ष डिभिजन शहीद स्मारक लिगको प्रतिस्पर्धी नभएको उल्लेख गर्दै यो आयोजनाबाट नेपाली फुटबललाई नयाँ स्तरमा लैजान मद्दत पुर्याउने उद्देश्य रहेको धारणा राखे ।
पहिलो संस्करणमा सात वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन वटा नयाँ टोली थपिएको छ । तर पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करणबाट हात झिकेको छ । त्यसैले एनएसएलमा फ्रेन्चाइज टोली अस्थिरबारे निर्देशक कार्कीले व्यक्तिगत कारणले त्यस्तो हुन गएको पनि स्पष्ट पारेका छन् ।
एनएसईएमकी अध्यक्ष आश्रेयता कार्की चौधरीले एनएसएललाई नेपाली फुटबल विकासको सारथीका रूपमा अगाडि बढाउने उद्देश्यअनुरूप आयोजना गरिएको उल्लेख गरिन् । यस संस्करणमा दर्शकको उपस्थिति बढाउन आयोजकले आकर्षकरूपमा प्रतियाेगिता आयोजना गर्ने उद्घोष गरेको छ । इङ्लिस फुटबल लिग (ईपीएल) मा चेल्सीबाट खेलिसकेका डिडियर ड्रोग्बालाई दोस्रो संस्करणको प्रतियाेगिताकाे क्रममा नेपाल ल्याउने आयोजकले जनाएको छ । साथै फुटबलका अन्य हस्तीलाई पनि ल्याउने आयोजकले उल्लेख गरेको छ ।
यस संस्करणमा भारतका तीन जना रेफ्रीको पनि सहभागिता रहने भएको छ । यस पटक इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । गएकाे संस्करणको टोलीहरू काठमाण्डाै रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि खेल्दैछन् ।
पहिलो संस्करणमा काठमाण्डाै रेजर्सले उपाधि जितेको थियो । आयोजकले उपाधि विजेताका लागि अहिलेसम्म पुरस्कार राशि तय नभएको बताएकाे छ । यद्यपि ७५ लाख रुपैयाँ नगद पुरस्कार या त्योभन्दा पनि बढी हुन सक्ने आयोजक एनएसईएमका निर्देशक कार्कीले बताए । कुल ४० वटा खेल नै दशरथ रङ्गशालामा हुनेछन् । राम्रो मैदानको अभावमा दशरथ रङ्गशालमा नै सबै खेल खेलाउन बाध्य भएको आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।