चिसोबाट जोगिन घरकोठा तातो बनाउँदा सावधानीमा ध्यान दिन आग्रह

 मंसिर ९, २०८० शनिबार ११:४१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - हिउँद शुरु भएसँगै चिसो बढ्न थालेको छ । चिसोबाट जोगिन घरकोठा तातो बनाउँदा सावधानी नअपनाउँदा ज्यानै जाने जोखिम हुन्छ ।

घरकोठा तातो पार्न दाउरा, कोइला, ब्रिकेट बाल्ने तथा हिटर र ग्यास गिजरको प्रयोगमा सामान्य लापरबाहीले आगलागीसँगै निसास्सिएर ज्यान गुमाउने घटना यसवर्ष पनि दोहोरिन थालेका छन् ।

गएराति बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा घरमा आगलागी हुँदा दुई परिवारका चार जनाको ज्यान गएको छ ।

रोजगारीका लागि नेपालगञ्ज रहेका स्थानीय भरत चन्दको घरमा आगलागी हुँदा उहाँका दुई छोरा, दिदी र भान्जी गरी चार जनाको ज्यान गएको वडा नम्बर–४ का वडाअध्यक्ष सुरेश गौतमले बताउनुभयो । आगलागीमा दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाको ज्यान गएको हो ।

आगलागीमा चन्दकी श्रीमती २८ वर्षकी करिष्मा चन्द घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो । कोठा न्यानो पर्नका लागि तसलामा बालिएको आगोबाट आगलागी भएकाे हुनसक्ने प्रारम्भिक अनुमान छ ।

हिजो बेलुका घर बाहिर तसलामा आगो बालेर तापेको र सुत्न जाँदा आगोसहितको तसला कोठाभित्र लिएर गएको पाइएको डीएसपी अर्यालले बताउनुभयो । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार विगतमा जस्तै यसवर्ष पनि चिसो शुरु भएसँगै आगलागी र निसास्सिएर ज्यान जाने घटना शुरु भएका छन् ।

यस्ता घटनालाई न्यूनीकरण गर्न सचेतना आवश्यक रहेको उहाँको भनाइ छ । घरकोठा तथा फ्ल्याट न्यानो पार्न विभिन्न सामग्रीको प्रयोग गर्दा अक्सिजनको मात्रा, हावा ओहोरदोहोर गर्न सक्ने अवस्था छ/छैन भन्नेतर्फ ध्यान दिन उहाँको आग्रह छ । हिटर, गिजर, कोइला र ब्रिकेट बालेर ढोका बन्द गरी नसुत्न पनि उहाँको आग्रह छ । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया