युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
सङ्खुवासभा – सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको १ हजार ६३ मेगावाटको अपर अरुण आयोजनाको पहुँच मार्ग निर्माणका लागि २ हजार वटाभन्दा बढी रुख काटिने भएको छ । आयोजनाको पहुँच मार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका २ हजार वटाभन्दा बढी रुख काट्न अनुमति दिइएको हो ।
पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन तथा भोटखोला–२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको झन्डै २१ दशमलव ०८ हेक्टर क्षेत्रफलका २ हजार १ सय ६८ वटा रुख काट्न अनुमति दिएको डिभिजन वन कार्यालयका प्रमुख भीम कालीकोटेले जानकारी दिनुभयो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । योसँगै आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया थालिएको उहाँको भनाइ थियो ।
प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित झन्डै २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काई सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।
पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । ७ अर्ब ९१ करोड ३९ लाखमा याे सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । अपर अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि २ अर्ब २३ करोड १९ लाख रुपैयाँ मुआब्जा रकम वितरण भइसकेको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्ब २६ करोड रुपैयाँभन्दा बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण शुरु हुनेछ । निर्माण शुरु भएको ६ वर्षभित्रमा आयाेजना सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइने आयोजना कार्यालयले जनाएको छ ।
जलविद्युत् आयोजनाका लागि १४ हजार रुख काटियाे
जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजार वटाभन्दा बढी रुख काटिएकाे छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोशी करिडोरलगायत विभिन्न आयोजना विस्तारका लागि १४ हजार वटाभन्दा बढी रुख काटिएकाे डिभिजन वन कार्यालयले जनाएको छ ।
विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रुख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । ९ सय मेगावाटको अरुण तेस्रो र २ सय २० मेगावाटको कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि याे सङ्ख्यामा रुख काटिएका हुन् । अरुण तेस्रो र कोशी करिडोर प्रसारण लाइनका लागि जिल्लामा १८ सामुदायिक वनका १४ हजार ६ सय २७ वटा रुख काटिएकाे डिभिजन वन कार्यालयका प्रमुख कालीकोटेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।