१४ किलो सुन तस्करी प्रकरण : मीन घले समूहले १ सय ३८ किलो सुन ल्याएको छानबिन समितिको निष्कर्ष

 पुष ८, २०८० आइतबार १५:४८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको १४ किलो सुन तस्करी प्रकरणकाे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । भन्सार प्रमुख मणिराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आज आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा मीनबहादुर घले नेतृत्वको समूहले पटक–पटक गरी एक सय ३८ किलो सुन ल्याएको र त्यसमध्ये मङ्सिर २२ गते १४ किलो सुन बरामद भएको निष्कर्ष निकालिएको छ । मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीयसँग मिलेर सुन तस्करी गर्ने गरेका प्रतिवेदनमा उल्लेख छ । प्रहरीले मङ्सिर २१ गते १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिवेदनमा मीनबहादुर घलेले विमानस्थलमा 'सेटिङ' मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेका र विमानस्थलबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाश प्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको उल्लेख छ । सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइ, शौचालय, प्लम्बर, एसी लगायतमा सफाइ र मर्मतको काम गर्नेहरूले भन्सार जाँच छलेर बाहिर निकाल्ने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

१४ किलाे सुन तस्करी प्रकरणमा मीनबहादुर घलेसहित अहिलेसम्म नाै जना पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेले बताउनुभयाे । पक्राउ परेका सबैलाई २५ दिनभित्र भन्सार ऐनअनुसार मुद्दा दर्ता गर्ने पनि प्रमुख पाण्डेले बताउनुभयो । 

पक्राउ पर्नेमा गाेरखाका मीनबहादुर घलेसहित गोरखाकै चन्द्र घले, स्याङ्जाका कृष्णकुमार श्रेष्ठ, काठमाण्डाैका शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, रमेश देउवा, नुवाकोटका लेकबहादुर तामाङ, धादिङका अनिल श्रेष्ठ र लमजुङकी विना गुरुङ रहेका छन् । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया