नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिए...
पुस ७, २०८१ आइतबार
अहिले पानी पर्ने सम्भावना खासै छैन । केही दिनअघि बङ्गालको खाडीबाट आएको जेट स्ट्रिमका कारण पूर्वी भागमा हिमपात पनि भयो । अलिकति वर्षा पनि भयो । तर, हिउँदमा वर्षा गराउने पश्चिमी वायु जसको उद्गम भनेको पाकिस्तान–जम्मु काश्मिर–उत्तराखण्ड–हिमाञ्चल प्रदेश हुँदै नेपालको सुदूरपश्चिममा प्रवेश गरेर बिस्तारै पूर्वतर्फ आउँछ । यो पश्चिमी वायु प्रणाली एकदमै कमजोर छ । जुन भूमध्य सागरबाट आउँछ । जुन अहिलेसम्म १६ वटा आयो । जसमध्ये तीन वटा मात्रै अलिकति बलियो भयो । त्यसले आसाम, मेघालयसम्म अलिकति पानी पार्यो ।
हामीकहाँ मनसुन सकिएर मंसिर १५ देखि फागुन १७ को अवधिलाई हिउँदे वर्षाको अवधि भनिन्छ । यो अवधिमा ६० दमलव १ मिलिमिटर पानी पर्नु पर्ने हो । गएको हिउँदमा पनि २१ प्रतिशत पानी पर्यो । अर्थात् ६० मिलिमटरमा १५ मिलिमिटर मात्रै पानी पर्यो । यस वर्ष पनि १ दशमलव ९ मिलिमिटर मात्रै पानी पर्यो । यसको अर्थ ३ दशमवल १ प्रतिशत मात्रै पानी पर्यो । अर्थात् ९७ प्रतिशत पानीको अभाव देखिएको छ । जसलाई हामी एक्युट डेफिसेन्सी भन्छाैँ । यसको ठूलो असर कृषि प्रणाली, वन प्रणालीमा पर्छ ।
हिउँदे वर्षाको अहिलेको मोडलले माघको मध्यमा औसतको हाराहारी अर्थात् २०/२५ मिलिमिटर पानी पर्छ कि भन्ने देखाएको छ । भारतको उत्तराखण्डदेखि लिएर, उत्तरप्रदेश, जम्मु काश्मिर अनि हिमाञ्चल प्रदेशको अवस्थालाई हेर्ने हो भने त्यहाँ औसतमा ५ प्रतिशत पानी पर्नु पर्नेमा अहिले शून्य दशमलव ६ प्रतिशत पानी परेको अवस्था छ । यसकारण पश्चिमी वायुको हिँड्ने बाटोमा पानी एकदमै कम छ । र, हिमपात पनि कम भएको छ ।
विभिन्न मोडलहरु हेर्दा अहिले माघको मध्यमा पानी पर्छ भन्ने लागेको छ । तर, अहिले पश्चिमी वायु तिब्बतको माथि छ । त्यो भनेको धेरै टाढा छ । त्यसको असर नेपालमा पर्दैन । त्यसकारण माघको दोस्रो हप्तामापानी पर्ने सम्भावना कमै देखिन्छ ।
वर्षाको मुख्य स्रोत नै समुद्र हो । ८० प्रतिशत पानी पर्ने भनेको समुद्रको वाफबाट हो । समुद्रमा अहिले ‘एलिनो’ भन्ने प्रणाली सुदृढ भएको छ । प्रशान्त महासागरमा ‘एलिनो’को अवस्था बलियो हुँदै गएको र हिन्द महासागरमा आईओडी (इण्डियन ओसियन डाइपोल) अर्थात दुवै महासागरमा समुद्रको सतहको तापक्रम औसतभन्दा बढी छ । यस्तो अवस्थामा ‘एलिनो’को दुई वटा असर हुन्छ । जसले गर्दा एसिया प्यासिफिक क्षेत्रमा कम पानी पर्ने, तर ल्याटिन अमेरिकामा भने धेरै पानी पर्ने हुन्छ । अहिले त्यहाँ बाढी, पहिरोको भविष्यवाणी गरिएको छ ।
जब समुद्र तात्छ तब जलवाष्प उत्पन्न हुन्छ । समुद्रको सतह तात्दा अहिले ल्याटिन अमेरिकामा पेरुतर्फको भाग तात्यो भनेपछि यता एसिया प्यासिफिक चिसो भयो । करेन्टको प्रवाह यस्तो हुन्छ कि जता चिसो छ त्यसलाई तातोले विस्थापन गर्छ । यसले गर्दा न्यून चापीय अवस्था उता सिर्जना गर्छ । जसले गर्दा पानी पार्ने प्रणाली यता नआइ उतातिर गयो । यो नेपालमा मात्र नभएर पूरै एसियाकै अवस्था हो । यसले समुद्रको दक्षिणतर्फ पानी पर्ने अवस्था बनाउँछ । दक्षिण भारतमा अहिले पनि पानी परिरहेको छ । तर, जति जति हामी उत्तरतिर आउँछौँ सुक्खा भएको अवस्था देखिन्छ । आईओडी सकारात्मक हुनु एलिनो सक्रिय हुनु र समुद्रको तापक्रत औसतभन्दा कम हुनुले पानी पर्ने प्रणाली हाम्रोतर्फ कमजोर ल्याटिन अमेरिका र पेरुतर्फ बलियो हुनुले पानी उता पर्छ । हाम्रोतिर पर्दैन । यस्तो प्रणाली चार/पाँच वर्षको अन्तरालमा घुमिरहन्छ । यस पटक पानी नपर्ने चक्र हामीतर्फ आयो । यसको असर गर्मी सिजनसम्म रहिरहन्छ । यसले अहिले चिसो बढी भएजस्तो गर्मी पनि बढी हुने सम्भावना पनि धेरै हुन्छ ।
मौसम पूर्वानुमान गर्ने विभिन्न मोडलहरु हुन्छन् । जसमा हावाको चाप कति छ । समुद्रको सतहको तापक्रम कति छ । वायुमण्डलको तापक्रम कति छ । हावा कतातिर बगिरहेको छ । यी विभिन्न प्यारामिटरलाई एउटा सिस्टममा हालेर हिसाब निकाल्ने हो । यसरी हिसाब निकाल्दा विभिन्न सम्भावना देखाउँछ । जस्तो पानी पर्ने सम्भावना औसतभन्दा बढी देखियो अर्थात् झण्डै ७० प्रतिशत जस्तो देखियो भने सम्भावनाको जे अनुमान गरेको छ त्यसको नजिक हुन जान्छ । तर, पानी पर्ने त छ सम्भावना भने ३५ देखि ४५ प्रतिशत मात्रै छ भने त्यसमा पानी नपर्ने सम्भावना बढी हुन्छ ।
हिउँदे वर्षा नहुँदाको असर
हिउँदे वर्षा किन महत्त्वपूर्ण छ भने हामीले खाने गहुँ, जौ, दाल, मुसुरो आदि हिउँदमा खेती हुन्छन् । नेपालमा सबै ठाउँमा सिँचाइ छैन । यसकारण यस्ता हिउँदे बालीलाई हिउँदै वर्षाले प्रत्यक्ष असर पुर्याउँछ । हाम्रो जीविकोपार्जनमुखी कृषि भएको हुनाले हामी आफूलाई आवश्यक पर्ने जति लगाउँछौँ । त्यति व्यवसायिक खेती छैन । यसकारण जस्को जीविकोपार्जनको अर्को उपाय छैन त्यस्तो परिवारलाई हिउँदे वर्षा नहुँदा ठूलो असर पर्छ ।
अर्को भनेको उत्पादन नहुँदा मूल्य बढ्नु स्वाभाविक हो । पोहोर साल २१ प्रतिशत मात्र हिउँदे वर्षा हुँदा गहुँको भाउ बढ्यो । यसपटक पनि त्यो हुँदैन भन्न सकिने अवस्था छैन । वन प्रणाली र पानीको प्रणालीमा पनि यसको असर पर्ने कारणले गाईबस्तुमा पनि यसको असर हुन सक्छ । यो कृषि, वन, पानी सबैसँग जोडिन्छ । भारतले यस वर्ष कम पानी पर्छ भनेर उखुको निर्यात रोक्यो । धानको निर्यात रोक्यो । बास्मती महँगो भएका कारण रोकेन तर अरु धान भने रोक्यो ।
हिउँदमा पानी परेन भने हाम्रो वातावरणमा जति पनि धुलो, धुवाँ आदि प्रदूषण छन् त्यसमा विभिन्न आकारका प्रदूषणहरु हुन्छन् जस्तो पार्टिकुलेट म्याटर अर्थात् पीएम २ दशमलव ५ देखि २ दशमलव १० पनि हुन्छ । साना, साना कण त्यसमा ओजोनको तह, नाइट्रस अक्साइडको तह, धुलोका कणदेखि धुवाँका कणसम्म हावामा मिसिन्छ । यस्ता प्रदूषण हावामा मिसिँदा काठमाण्डौ जस्तो ठाउँमा हावा नचल्दा प्रदूषणको एउटा तह बनेर बस्छ । घाम लाग्दा त्यो तह अलि माथि सर्छ, बिहान र बेलुका चिसोले त्यसको घनत्त्व बढ्ने हुनाले त्यो जमिनतिर आउँछ । त्यो भनेको हाम्रो सास फेर्ने नाकको तहतिर आउँछ । त्यो भने त्यो धुलो, धुवाँ जति सबै हाम्रो फोक्सोमा जाने भयो । त्यसको अर्थ हिउँदे वर्षा कम हुँदा अस्पतालमा श्वास प्रश्वासका बिरामी बढ्ने भए । जब धुलो, धुवाँ र एकदम हानिकारक प्रदूषण हाम्रो फोक्सोमा जान्छ किनकि मास्क लगाउने र सबैको घरमा पनि भेन्टिलेसन राख्ने क्षमता पनि हुँदैन । त्यसकारण जे हावामा छ त्यो हामी सबै निल्ने हो ।
हिउँदे वर्षा नहुँदा आगलागीको घटना पनि बढ्ने भयो । जलवायु परिवर्तनको असरले पानी परेन, जङ्गलमा आगो लाग्यो र त्यसबाट भएको गैह्र आर्थिक क्षतिको विवरण राख्ने हाम्रो प्रचलन नै छैन । जंगलमा आगलागी भएर कति वनस्पति नष्ट भए, त्यसको कति आर्थिक क्षति हो, कति काठ नष्ट भयो, त्यसको आर्थिक क्षति कति हो भन्ने कुराको हामीसँग तथ्यांक नै छैन । अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका कारण नेपालमा हिउँदमा यस्तो अवस्था भयो, आगलागीका कारण यति मूल्यको काठ नष्ट भयो, यति मूल्यको वनस्पति नष्ट भयो, कृषि प्रणालीमा यति असर गर्यो भनेर त्यसका बारेमा आवाज उठाउन पनि हामीले तथ्यांक राख्नुपर्ने हुन्छ ।
हिउँदे वर्षा अलि पछि हुँदा अहिले उम्रेर बाला लाग्न लागेको गहुँलाई काम नलागे पनि अरु बालीलाई काम लाग्न सक्छ । तर, अहिले जे खेती गरिरहेका छौँ, गहुँ, मुसुरो, आदिमा त यसको असर पर्छ पर्छ । पछि पानी पर्दा अहिलेको खेतीलाई फाइदा नगरे पनि तत्कालीन अवस्थाको खेती प्रणालीलाई राम्रै गर्ला । तर, हिउँदे वर्षा नहुँदा एउटा न एउटा चक्रमा असर पर्छ ।
अहिलेको माघ महिनामा पानी पर्ने सम्भावना छ भनेर अहिलेको गाणितहरुले बोलेको छ । त्यो बोलेको अवस्था र अहिलेको महिनामा पनि जुन प्यारामिटरहरु देखिएका छन् त्यसलाई हेर्दा पानी पर्ने सम्भावना अझै छ भनेर मान्नुपर्ने हुन्छ ।
जोखिम कम गर्ने उपाय
यदि माघमा पानी परेन र फागुनमा पानी पर्यो भने त्यसले केही फाइदा हुनेवाला छैन । अहिले वर्षा भएन भने मनसुनको वर्षामा पनि असर पर्न सक्छ । राष्ट्रिय विपद् ऐन २०७४ ले ७ सय ५३ वटै पालिकामा स्थानीय आपतकालीन केन्द्र, र स्थानीय विपद् व्यवस्थापन समिति बनेको छ । यदि कैलाली र कञ्चनपुरमा ठूलो शीतलहरको अवस्था छ भने शीतलहर घोषणा गरेर, दाउरा बाँड्ने र सहयोग गर्ने संयन्त्र बनाउने अधिकार सरकारले दिएको छ । त्यो संरचनाले कत्तिको काम गरेको छ र कति काम गर्नुपर्छ भनेर मनन गरेर सबै ७ सय ५३ वटै पालिकाले स्थानीय आपत्कालीन केन्द्रलाई जागरुक बनाउने तथा विपद् व्यवस्थापन र जलवायु समितिलाई सक्रिय बनाउनु पर्छ । आफ्नो स्रोत र साधनको पनि प्रयोग गर्नुपर्छ । खाद्यान्नको अभाव हुन नदिन खाद्य गोदाम, खाद्य बैंक बनाउने काम पनि गर्नुपर्छ । यदि यी सबै काम हामीले गर्न सक्यौँ भने हामी सम्भावित जोखिमबाट डराउनुपर्ने अवस्था छैन ।
(जलवायुुविद् उप्रेतीसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
धर्मराज उप्रेती जलवायुुविद् हुनुहुन्छ ।