च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डौ — काठमाण्डौ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियाेलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०७९/८० मा महानगरभित्र मात्रै एक सय १० कुष्ठरोगका बिरामी भेटिएका हुन् ।
महानगरभित्र कुष्ठरोगका बिरामी फेला परेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेवकलाई ‘कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता समावेशी सम्बन्धी’ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा यससम्बन्धी पाठ्यक्रम निर्माण गरी कुष्ठरोग के हो ? कुष्ठरोगले मानिसलाई कसरी अपाङ्गता बनाउँछ ? निदान कसरी गर्न सकिन्छ ? यो रोग लागिहालेमा कसरी औषधि सेवन गर्नेलगायत जानकारी दिइने एनएलआर नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले जानकारी दिनुभयो ।
कुष्ठरोग समयमै पहिचान गर्नसके औषधि सेवनबाट निको हुने उहाँको भनाइ छ । संस्थाले बिहीवार काठमाण्डाै महानगरपालिका–२६ मा कार्यक्रम सञ्चालन गरेको थियो । ‘कुष्ठरोग आँखाले देख्न नसकिने 'माइकोब्याक्टेरियम लेप्रे' नामक सुक्ष्म कीटाणुबाट लाग्ने, ज्यादै कम सर्ने रोग हो । उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यमबाट यो रोग सर्ने गरेको पाइन्छ’, निर्देशक सिंहले भन्नुभयो ।
एनएलआरले अहिलेसम्म काठमाण्डाै महानगरपालिका वडा नम्बर–१०, ११, २६, २९ र ३१ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई यससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिसकेको छ । आउँदा दिनमा वडा नम्बर–६, ७, ८, ९ र १७ वडामा कार्यक्रम सञ्चालन गरिने सिंहले बताउनुभयो ।
कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डाक्टर प्रशन्न नापितले आर्थिक वर्ष २०७९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएका जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा नौ सय ४४ रहेका छन् ।
एनएलआरले पहिलो चरणमा काठमाण्डौका विभिन्न १० वडाका तीन सयभन्दा बढी जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।