वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवाबाट रकम उठाएर सर्लाहीका एक दम्पती फरार

 भदौ २, २०८१ आइतबार ९:२६:६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवासँग रकम उठाएका सर्लाही लालबन्दी नगरपालिका वडा–८ का पदमबहादुर गोले र उनकी श्रीमती जुली श्रेष्ठ फरार भएका छन् । पीडित युवाले गोले दम्पतीले एक करोड १७ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेर फरार भएको बताएका छन् ।

विभिन्न देशमा राम्रो रोजगारीमा पठाइदिने भन्दै एकै व्यक्तिसँग नौ लाख रुपैयाभन्दा धेरै रकम लिएको पीडितमध्येका एक मिलनकुमार चौधरीले गुनासो गर्नुभएको छ । गोले दम्पती मिलेर तराईका पाँच वटा जिल्लाका ६५ जनाभन्दा धेरै युवासँग रकम असुली गरेको पीडितको दाबी छ ।

गोले दम्पतीले सर्लाही, महोत्तरी, रौतहट, धनुषा र सुनसरीका युवालाई विभिन्न देशमा रोजगारीका लागि राम्रो अवसर आएकाले त्यसका लागि आवश्यक कागजातसमेत तयारी गर्नु भनेको उनीहरुको भनाइ छ । ‘कुवेतमा राम्रो काममा आएको छ, घरभित्रकै डेकोरेसनको काम हो । मासिक ५७ हजार रुपैयाँसम्म कमाई हुन्छ, पैसा चाँडै जम्मा गरे लगत्तै भिषा आउँछ’ भनेपछि आफूले ऋण खोजेर नौ लाख १० हजार रुपैयाँ बुझाएको पीडित युवा समिर कुश्वारले बताउनुभयो ।

रोजगारीका लागि कुवेत जान समूहमा बनाएर मान्छे खोज्न लगाएको पीडित युवाले बताएका छन् । आफूले १२/३ जना साथीको पैसा जम्मा गरेर लालबन्दी—७ मा रहेको सिरा सेक्युरिटीमा लगेर गोलेलाई पैसा  जम्मा गरिदिएको कुश्वारको दाबी छ । रकम लिएको डेढ वर्ष बित्दासमेत रोजगारीमा पठाउने अवस्था नरहेपछि रकम फिर्ता गराईदिन गएको माघमा ईलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएको अर्का पीडित युवाको भनाइ छ ।

प्रहरीमा उजुरी दिएको लामो समय भइसक्दा पनि गोले दम्पतीलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडितले गुनासो गरेका छन् । यसअघि पीडितले  नै  गोलेलाई पक्राउ गरेर प्रहरीमा बुझाएका थिए । तर तीन महिना भित्र लिएको सबै पैसा फिर्ता गर्ने सर्तमा कपालि तमसुक गरेपछि उनी प्रहरीबाट छुटेका थिए ।

उनले मिलन चौधरीलाई पाँच लाख र समिर कुश्वारलाई नौ लाख १० हजारको बैंक चेक पनि दिएका थिए । तर बैंकमा पैसा निकाल्न जाँदा रकम नभएको थाहा पाएपछि गोलेलाई खोज्न उनीहरू घरमा पुगेका र उनी श्रीमतीसहित फरार भएको चौधरीले बताउनुभयो ।

देशिक रोजगारीमा पठाइदिने नाममा गोलेले मिलन कुमार चौधरीसँग पाँच लाख, समिर कुश्वारसँग नौ लाख १० हजार, रौतहटका युवाबाट २० लाख ६० हजार रकम असुली गरेको कपाली तमसुकबाट देखिन्छ । त्यस्तै महोत्तरी, रौतहट, धनुषा र सुनसरीका युवाबाट पनि रकम ठगी गरेको पीडितको दाबी छ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया