मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित

 कात्तिक ४, २०८१ आइतबार ७:३७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् ।

नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९ गतेदेखि कार्यान्वयनमा आउनेछ । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने मलेसियाको सरकारले जनाएको छ ।

मलेसियामा झन्डै चार लाख नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा झन्डै दुई लाख २० हजार नेपाली युवा नयाँ श्रम स्वीकृति लिएर मलेसिया गएकामा आर्थिक वर्ष २०८०/८१ देखि औपचारिक क्षेत्रमा विदेशी कामदार भर्ना पूर्णरूपमा बन्द गर्ने निर्णय गरेपछि यो सङ्ख्या घटेर ८१ हजार तीन सय ८२ मा झरेको छ ।

श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार मलेसियासहित खाडी सहयोग परिषद् (जीसीसी) का बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य हुन् । १० वर्षअघिदेखि यी सात देशले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि ८० प्रतिशतभन्दा बढी रोजगारीको अवसर दिँदै आएका छन् ।

मलेसियाले एक महिनाअघि मात्र विदेशी कामदारका लागि आंशिक रूपमा श्रम बजार खुला गर्दै बगान, गार्मेन्टलगायत केही क्षेत्रमा कोटा तोकेर कामदार लैजाने निर्णय गरेको छ । नेपाली श्रमिक मलेसिया लैजाने प्रक्रिया भने अहिलेलाई बन्द छ । याे प्रक्रिया छिटै खुलाउने तयारी भइरहेको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया