वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो

 साउन २, २०७६ बिहिबार १९:८:१४ | उज्यालो सहकर्मी

काठमाण्डौ – गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ । 

वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा यो वर्ष विदेश जानेको संख्या एक लाख तीन हजार ८ सय ५७ जनाले घटेको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा ६ लाख १२ हजार ६ सय ८५ जनाले श्रम स्वीकृति लिएकोमा आर्थिक वर्ष २०७५/७६  मा ५ लाख ८ हजार ८ सय २८ जनाले मात्रै विदेश जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । जसमा ३२ हजार १ सय २३ महिला र अरु पुरुष रहेका छन् ।

अघिल्लो वर्ष जस्तै यो वर्ष पनि कतार जानेको संख्या धेरै छ । अघिल्लो वर्ष एक लाख ८३ हजार ५४२ जना कतार गएकोमा यो वर्ष एक लाख ६१ हजार २ सय १५ जना गएका छन् । 

यस्तै यूएईमा १३ हजार ४ सय ७२ महिलासहित एक लाख १९ हजार ८ सय ५५, साउदी अरबमा २ हजार ३३ महिला सहित १ लाख १७ हजार ९ सय ४ जना रोजगारीको लागि गएका छन् । २५ हजार ९ सय ९६ जना कुवेत गएका छन् । यस्तै बहराइनको लागि ७ सय ४७ महिलासहित ८ हजार ६ सय ७४ जनाले श्रम स्वीकृति लिएका छन् ।

यो वर्ष मलेसियाको रोजगारी बन्द भए पनि ४२ हजार १ सय ४६ जना कलिङ भिसामार्फत गएका छन् । कलिङ भिसा आएकाका लागि खुले पनि नयाँ कामदारका लागि मलेसियाको रोजगारीको ढोका अझैं बन्द नै छ ।

तपाईको प्रतिक्रिया