श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै घुस लिने दुई जना श्रम कार्यालय ताहाचलबाट पक्राउ

 कात्तिक १९, २०७७ बुधबार १६:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसरबाट श्रम स्वीकृति छिटो गरिदिने भन्दै घुस लिंदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

श्रम स्वीकृति लिन कार्यालय पुगेका सेवाग्राहीसँग काम छिटो गरिदिने भन्दै आठ हजार घुस लिने कार्यालयमा करारमा कार्यरत सवारी चालक समिर भन्ने धनबहादुर तामाङ र लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरी पक्राउ परेका हुन् ।

दुवै जनाले काम छिटो गरिदिने भन्दै घुस मागेको सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रामानन्द चौधरीले सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिएर सवारी चालक धनबहादुरलाई दिएको अवस्थामा रकमसहित दुवैलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । पछिल्लो समय श्रम स्वीकृति लिनका लागि कार्यालय जानुअघि नै अनलाइनमार्फत फारम भरेर टोकन लिनुपर्छ ।

अनलाइन टोकनमा नै कुन समयमा श्रम स्वीकृति पाइन्छ र कुन समयमा कार्यालय आउने भन्ने कुरा उल्लेख हुने भएकाले ठगीमा नपर्न कार्यालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया