वैदेशिक रोजगारीले दिएको मानसिक चोटमा सामीले लगाइदिएको मलम

 माघ १६, २०७७ शुक्रबार १७:३५:५२ | उज्यालो सहकर्मी

काठमाण्डौ – पैसा कमाएर आमालाई सुख दिन्छु भन्दै तीन वर्षअघि यूएई जानुभएका ३३ वर्षीय सन्तोष (नाम परिवर्तन) अहिले घरमै हुनुुहुन्छ । कमाउन देश विदेश पुग्नुभएका सन्तोष अहिले घरको कोठा र आँगनमै दिन बिताउनुहुन्छ । किनकी उहाँ मनको रोगसँग लडिरहनुभएको छ । 

कमाउँला, बाआमालाई सुख दिउँला र आफू पनि सुखैले बाँकी जीवन कटाउँला भन्ने सपना नदेख्ने परदेशी को होला र ! तर ती सपना पूरा गर्न कोहीलाई ज्यानले साथ दिदैन त कोहीलाई मन र मस्तिष्कले । सन्तोष पहिलेदेखि नै रोजगारीको लागि भारत जाने आउने गरिरहनुहुन्थ्यो ।

तर भारतकोभन्दा यूएईमा कमाइ धेरै हुन्छ भन्ने सुनेपछि यूएई जाने योजना सुनाउनुभयो घरमा । काठमाण्डौको एक म्यानपावरले तीन लाख रुपैयाँमा पठाइदिन्छु, काम राम्रो छ भनेपछि तीन लाख रुपैयाँ ऋण काढ्नुभयो र २०७४ मा लेबरको रुपमा यूएई पुग्नुभयो । तर तीन वर्षको लागि भनेर जानुभएका सन्तोष दुई वर्षमा रित्तो हात घर फर्कनुभयो । 

‘ख्वै किन हो हामीलाई केही पनि भनेन, उताबाट फर्केपछि टोलाइरहन्थ्यो, एकसुरो भएको थियो’, सन्तोषकी आमाले भन्नुभयो, ‘यूएई गएर पैसा कमाउन सकिएन, जाँदाको ऋण पनि तिर्न सकिएन भनेर चिन्ता गर्थ्याे ।’

सोचेको कुरा सधैँ पूरा कहाँ हुन्छ र ? विदेश गएर कमाउँछु, आमालाई सुख दिन्छु भन्ने सन्तोषको सपना पनि पूरा भएन । त्यसपछि सन्तोषले फेरि कमाउन जाने योजना घरमा सुनाउन थाल्नुभयो । परिवारकै सल्लाहमा भारत जानुभयो । त्यही बेला विश्वमा कोरोनाको त्राश फैलिँदै थियो । सन्तोष भारत पुगेको एक महिना नबित्दै त्यहाँ लकडाउन भयो । 

‘हामीसँग त पैसा थिएन, उसको सानी आमाले पैसा पठाइदिएर भारत गएको थियो, तर महिनादिन बित्न नपाउँदै फर्किनुपर्यो’, उदास स्वरमा सन्तोषकी आमाले भन्नुभयो ।

नेपालमा पनि कोरोनाको त्राश बढ्दै थियो । विदेशबाट आएकालाई क्वरेण्टीनमा राख्न सुरु गरिसकेको थियो । सन्तोष पनि केही दिन क्वरेण्टीनमा बसेर घर जानुभयो । त्यसपछि भने सन्तोषले अहिलेसम्मै नदेखाउनुभएको व्यवहार देखाउन थाल्नुभयो । आत्महत्या गर्ने कुरा गर्न थाल्नुभयो । 

‘भारतबाट आएपछि उ निकै चिन्तामा हुन्थ्यो, आफूले त्यत्रो पैसा खर्च गरेर पनि केही कमाउन नसकेको भन्दै बर्रबराउँथ्यो’, सन्तोषकी आमा भक्कानिदै भन्नुहुन्छ, ‘डोरी लिएर आत्महत्या गर्छु भन्न थाल्यो, कतिपटक त उसको हातबाट मैले डोरी खोसेर पर राखिदिन्थेँ ।’

कोरोनाका कारण वैदेशिक रोजगारीकै लागि ओमानमा रहेका सन्तोषका भाइको काम पनि बन्द भयो । दाइलाई घरमा यस्तो भएको खबरले परदेशमा भाइको मन कसरी बुझ्न सक्थ्यो । ओमानमा आफ्नो बस्ने ठेगान नै थिएन भाइको । मनभरि भने दाइको चिन्ता थियो । आमासँग फोन गरेर सन्तोषका भाइ रुँदै भन्नुहुन्थ्यो, ‘दाइलाई जसरी भए पनि बचाउनु आमा ।’

सामीको सहयोग

आफ्नो छोराको यस्तो अवस्था देखेर आमाको मनमा के बित्छ होला ? सन्तोषकी आमाको लागि पनि आफ्नो छोराको त्यस्तो अवस्था एउटा असह्य पीडा थियो ।

क्वरेण्टीनबाट घर आएको छोरा ‘अब म मर्छु’ भन्दै हिँड्न थालेपछि उहाँलाई छोराको अवस्था देखेर चिन्ता मात्र लागेन, अब के हुने हो भनेर डर पनि लाग्न थाल्यो । उहाँले भन्नुभयो, ‘राति सुतेको बेला तीनचार पटक ब्युँझिन्थेँ, उसलाई हेरेर फेरि सुत्थेँ ।’

क्वरेण्टीनमा खटिएका स्वास्थ्यकर्मीको सल्लाहमा सन्तोषकी आमाले मनोसामाजिक परामर्शकर्तालाई भेट्नुभयो । नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्र्तगत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्रविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत उहाँको ठाउँमा परिचालित मनोसामाजिक परामर्शकर्ताले सन्तोषलाई परामर्श दिने काम गर्नुभयो । सन्तोषकी आमालाई पनि उचित परामर्श दिनुभयो । मनोसामाजिक परामर्शकर्ताले सम्झाएपछि सन्तोषको दिमागी हालत केही ठीक भयो । तर मानसिक अवस्था अलि जटिल भएकाले औषधि भने खानु पर्ने भयो ।

औषधि किन्नको लागि पैसा थिएन सन्तोषको परिवारसँग । मनोसामाजिक परामर्शकर्ताले नै यसको लागि नगरपालिकाले सहयोग गर्नेबारे जानकारी गराउनुभयो । सहयोगको लागि नगरपालिकासँग समन्वय गरिदिनुभयो । नगरपालिकाले औषधि खर्च बेहार्यो । आफ्नो छोराको उपचार भएकोमा निकै खुसी हुनुभयो सन्तोषकी आमा, ‘आकाशबाट भगवान आएर मेरो छोरालाई बचाए भनेर एकदमै खुसी लाग्यो ।’

दुई महिनाको औषधिले सन्तोष पूर्ण निको त हुनुभएन । तर पहिलेको भन्दा अवस्थामा सुधार भएको छ । अहिले पनि सन्तोषलाई नियमित औषधि खानपर्छ । तर केही महिना नगरपालिकोको सहयोग मिले पनि अहिले सन्तोषको परिवारले नै औषधि किन्न परेको छ । 

घरमा आम्दानीको स्रोत छैन । भाइको पनि कमाइ छैन । अब औषधी कसरी किन्ने आमालाई चिन्ता छ । एकपटक त सहयोग मिल्यो अब पनि कहीँबाट सहयोग मिल्छ कि भन्ने आशामा हुनुहुन्छ उहाँ ।

‘आफूसँग आम्दानीको बाटो नभएपछि अरुले पनि ऋण दिन मान्दैनन्’, उहाँ भन्नुहुन्छ, ‘कसैले आर्थिक सहयोग गरेर उपचार भइदियो भने छोरा निको हुने थियो ।’
 

तपाईको प्रतिक्रिया