‘श्रीमानले विदेशमा दुःखले कमाएको पैसा बचत होस् भन्ने लाग्छ’

 माघ २९, २०७७ बिहिबार १३:२:३८

अंगीता ढकाल, सर्लाही ।

सर्लाही – मानिसको सोच बदल्न ठूलो कुरा चाहिँदैन । थोरै प्रयास गर्ने हो भने मानिस आफूले आफ्नो  सोचाइ मात्र होइन जीवनशैली नै बदल्नसक्छ ।

पहिले, साँझ के खाना पकाउने, बिहान के खुवाएर छोराछोरीलाई विद्यालय पठाउने जस्ता कुराहरु दिमागमा खेलाएर बस्ने सुनिता अहिले पैसा कसरी बचत गर्ने, भविष्यको लागि बलियो आधार कसरी तय गर्ने जस्ता विषयमा सोच्नुहुन्छ ।

वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि सर्लाही, हरिवनकी सुनिता वाईबाको सोचाइ मात्र होइन काम गराइमा पनि निकै परिवर्तन आएको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्रविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत सञ्चालित छ सर्लाहीमा वित्तीय साक्षरता कक्षा ।

यही कक्षामा सहभागी भएपछि पहिले घरको काममै दिन बिताउने सुनिता अहिले कापी कलमसँग खेल्नुहुन्छ । कापीकलमको काम सकेपछि गोठमा भएका पाडापाडीको स्याहारमा पनि जुट्नुहुन्छ ।  

‘पैसा बचत गरे भविष्यमा आइपर्ने समस्याबाट पार लाग्न सकिने रहेछ, मैले बल्ल बुझेँ’, निकै उत्सुक हुँदै सुनिताले भन्नुभयो, ‘वित्तीय साक्षरताको कार्यक्रमले मलाई जीवन बुझ्न सजिलो बनाइदिएको छ ।’

सुनिताका श्रीमान् साउदीमा काम गर्नुहुन्छ । एक वर्षभयो साउदी गएको । श्रीमानले दुःख गरेर कमाएको कमाइमा मात्र सुनितालाई भर पर्न मन लाग्दैन आजकाल । आफूले पनि केही गर्नुपर्यो भनेर उहाँ वित्तीय साक्षरता कक्षामा सहभागी हुनुभयो । कक्षामा सिकेको शिक्षाले अहिले सुनिता आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने ज्ञान पाएको बताउनुहुन्छ ।

श्रीमानले माघ महिनामा पठाएको पैसाले सुनिताले पाडापाडी किन्नुभएको छ । कमै भए पनि उत्पादनमुखि तरिकाले लगानी गर्नुभएको छ । अब पाडापाडीलाई हुर्काएर व्यावसायिक भैँसीपालन गर्ने सोच छ उहाँको ।

‘खाली बसेर केही हुँदैन, केही न केही गर्नैपर्छ भनेर मैले पाडापाडी पालेकी हुँ’, हँसिलो अनुहार बनाउँदै उहाँले भन्नुभयो, ‘सुरुमा सानो लगानीबाट काम गर्नुपर्छ भनेर पनि वित्तीय साक्षरता कक्षाबाटै सिकेको हो ।’

सुनिताको गाउँमा वैदेशिक रोजगारीमा जानेहरु धेरै छन् । कसैले गएर राम्रै प्रगति गरेका छन् कसैले ठिकठिकै । कसैले त दुःख पनि पाएका छन् । नबुझेरै परदेश जाँदा र कमाएको पैसा बचत गर्न नजान्दा अझ समस्यामा फस्नेहरु पनि छन् । सुनितालाई भने सुरक्षित भविष्यको सुरुवात आजैबाट गर्नुपर्छ भनेर सिकाएको छ वित्तीय साक्षरता कक्षाले ।भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीमा गएका श्रीमानको कमाइ बचत होस्, घरखर्चमै नसकियोस् भन्ने लाग्छ ।’
 

तपाईको प्रतिक्रिया