जब भिसा नक्कली भएको कुरा रुस पुगेपछि मात्रै थाहा भयाे

 पुस १५, २०७९ शुक्रबार ९:१०:४४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लाखौँ रुपैयाँ आम्दानी हुने प्रलोभनमा फस्दा एक व्यक्तिको ११ लाख रुपैयाँ ठगी मात्रै भएन विभिन्न देश पुगेर अनावश्यक झमेला बेहोर्नुपरेको छ । ठगीका गिरोहले उनलाई नेपालबाट भारत, कतार र रुससम्म पुर्‍याएर बेचबिखन गर्न लागेका अवस्थामा नक्कली भिसामा विदेश पठाएर बेचबिखन गर्न लागेको पाइएको छ । 

नेपालबाट रुसको विमानस्थल पुगेपछि त्यहाँको प्रहरीले भिसा नक्कली भएको पत्ता लगाएको थियो । उनलाई झुक्याएर श्रमशोषणका लागि युक्रेनमा बेचबिखन गर्न लागेको पाइएपछि नेपाल फिर्ता गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी नक्कली भिसा बनाएर मानिस विदेशमा बेचबिखन गर्ने काममा दाङको लमहीका ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोकका २३ वर्षीय रुपेश ढकाल मुछिएका छन् । उनीहरू अहिले पुर्पक्षका लागि कारागार चलानसमेत भएका छन् ।

उनीहरूले सुरुमा पीडितलाई चेक रिपब्लिकमा सीप गार्डको काम लगाइदिने र मासिक दुई लाख रुपैयाँ पारिश्रमिक पाउने लोभ देखाएर वैदेशिक रोजगारीमा जान प्रेरित गरेका थिए । उनीहरूले पटक–पटक गरी पीडितसँग ११ लाख ५० हजार रुपैयाँ ठगी गरी दुई वर्षसम्म झुलाएका थिए । 

सुरुमा उनले भारतको नयाँ दिल्लीबाट पठाउने भनी भारत पुर्‍याए । तर लामो समयसम्म विदेश जाने कुनै प्रक्रिया नै नगरि अलपत्र राखेपछि उनी आफन्तको सहयोगमा नेपाल फर्किएका थिए । त्यसपछि पैसा फिर्ता माग्न जाँदा नदिएर पोर्चुगल पठाइदिने प्रलोभन देखाएपछि पीडित फेरि विदेश जान पाइने आशमा लोभिएर अर्काै प्रक्रिया सुरु गरेको पाइएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । 

त्यसपछि उनले भ्रमण भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै रुस पठाइदिए । रुसको प्रहरीले नक्कली भिसामा आएको र युक्रेनमा श्रम शोषणका लागि बेच्न लागिएको भन्दै पीडितलाई विमानस्थलबाटै पक्राउ गरी नेपाल फर्काइदिएको पीडितको भनाइ उद्धृत गर्दै ब्युरोले जनाएको छ । 

उनी नेपाल डिपोर्ट हुँदा यस्ता नागरिक रुसको विमानस्थलमा अलपत्र परेको देखेको पीडितले बताएका ब्युरोले जनाएको छ । नेपाल आएर पीडितले चौधरी र ढकालविरुद्ध मानव बेचबिखन गरेको आरोपमा कात्तिक २२ गते जाहेरी दिएका थिए । त्यही जहेरीका आधारमा चौधरीलाई मङ्सिर १५ गते र ढकाललाई १६ गते पक्राउ गरी प्रहरीले पुस ६ गतेसम्म अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनीहरू मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को कसुर गरेको दाबीसहित सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्र दायर भएको थियो । त्यही आधारमा काठमाण्डाै जिल्ला अदालतको बुधवारको थुनछेक आदेशले दुवै जना पुर्पक्षका लागि थुनामा पठाइएको ब्युरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया