सकारात्मक सोचले व्यवसायमा सकारात्मक परिणाम ल्याउँछ

 असार २८, २०८० बिहिबार १३:१:१६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

अजिता ठकुरी, काभ्रे ।

जीवनको एक दशकभन्दा लामो समय परदेशी भूमिमा बिताइयो । अब देशमै केही गर्नुपर्छ भन्ने लागेर अहिले नेपालमै क्लिनिङ कम्पनी सञ्चालन गरिरहेको छु । जसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा डेढसय जनाले रोजगारी पाएका छन् । 

आजभन्दा १७ वर्ष पहिले म वैदेशिक रोजगारीमा यूएई गएकी थिएँ । त्यतिबेला मेरो श्रीमान् पनि वैदेशिक रोजगारीमा यूएईमै हुनुहुन्थ्यो । श्रीमान् हाउस किपिङ तथा क्लीनिङ क्षेत्रमा फ्रन्ट डेस्कमा रहेर काम गर्नुहुन्थ्यो । म कफी सपमा । कफी सम्बन्धी तालिम सिकेर गएकाले पनि त्यहाँ मलाई काम पाउन र गर्न गाह्रो भएन । काम र कमाइ दुवै राम्रो थियो । तर घरदेशको मायाले परदेशको कमाइ पनि फिका पर्दो रहेछ । नेपालको मायाले तानिरह्यो । लामो समय भइसकेको थियो परदेशी भूमिमा काम गरेको । अब घर जानुपर्छ र उतै केही गर्नुपर्छ भन्ने सोचले घचघच्याइरह्यो । त्यसपछि हामीहरुले नेपाल फर्किने निर्णय गर्यौँ । मेरो श्रीमान् २०१७ मा नेपाल फर्किनुभयो । त्यसको एक वर्षपछि म पनि नेपाल पर्किएँ । 

हुन त मैले यूएईमै कफी बनाउने सम्बन्धी तालिममा बारिस्टामा मास्टर्स पनि गरेको छु । नेपाल गएर कफी सप वा रेस्टुरेन्ट खोल्छु भन्ने सोच थियो । नेपाल फर्केर काभ्रेको बनेपामा रेस्टुरेन्ट पनि खोलियो । तर त्यहाँबाट सोचेजस्तो कमाइ भएन । धेरै थिए रेस्टुरेन्टहरु । कफी सपको अवस्था पनि त्यस्तै थियो । बजारमा छाइसकेको व्यवसाय भन्दा केही नयाँ गरौँ भन्ने सोच पलायो । मेरा श्रीमानको क्लिनिङ क्षेत्रमा काम गरेको अनुभव थियो । नेपालमा यस्ता कम्पनी खुलेका पनि थिएनन् । त्यसले बजार लिन्छ भन्ने लाग्यो र हामीले त्यसैमा लगानी गर्यौँ । अनि २० लाख रुपैयाँमा लगानी गरेर २०७६ सालबाट सुरु भयो इन्नोभेटिभ हस्पिटालिटी प्राइभेट कम्पनी । 

घरभित्रका सम्पूर्ण प्रकारका सरसफाई, निजी घरदेखि सार्वजनिक कार्यालय, बगैंचादेखि खेलकुद आयोजना गरिएका रंगशाला र मैदान सफा गर्ने जिम्मा लिन्छ हाम्रो कम्पनीले । यसरी आएका काममा एक सय ५० जना जति श्रमिकलाई परिचालन गर्दै आएका छौँ । कतिलाई स्थायी रोजगारी दिएका छौँ भने कति ज्यालादारीमा काम गरिरहनुभएको छ । अहिले कार्यालय काठमाण्डौको तीनकुनेमा छ । हामीले काठमाण्डौ उपत्यका मात्र नभएर कामको माग भइआएअनुसार  देशभरि नै सेवा दिने व्यवस्था गरेका छौँ । 

अहिले मेरो श्रीमानले अलि बढी नै हेर्नुहुन्छ कम्पनी । म विदेशबाट फर्केकाहरुको संगठन रिटर्नी माइग्रेन्टमा पनि आबद्ध छु । कम्पनी राम्रै चलिरहेको छ । । ७५ प्रतिशत मार्जिन पाउने व्यवसाय भएकाले निराश हुनुपर्ने अवस्था छैन । व्यवसायमा सकारात्मक सोचले सकारात्मक परिणाम ल्याउने हो । अब चाँडै कफी सप खोल्ने रहर छ ।
 

तपाईको प्रतिक्रिया