जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ

 चैत १६, २०८० शुक्रबार १८:२८:१९ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

पर्सा – वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा जथाभाबी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार नौ सय रुपैयाँ जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । जथाभाबी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो ।

महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार २०७९ साल पुस १७ गतेदेखि जरिबानाको नियम लागू भएकोमा अहिलेसम्म नौ सय जना कारबाहीमा परिसकेका छन् । महानगरले २७ लाख दुई हजार छ सय पाँच रुपैयाँ जरिबानाबापत राजस्व सङ्कलन गरिसकेको छ । अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने महानगरको योजना छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सफाइ हुँदै आएको छ । बर्खायाम शुरु हुनुअघि महानगरभित्रका सबै नाला सफा गरिसक्ने प्रमुख मियाँले बताउनुभयो ।

वीरगञ्जलाइ सफा महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि अहिले सफा र सुन्दर देखिन थालेको छ । तर बजेट अभावका कारण सरसफाइ गर्ने कर्मचारी हटाएपछि चुनौती थपिएको प्रमुख मियाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया