विवाहपछि के हुन्छ दिपिकाको फिल्मी करियर ?

 कात्तिक ३०, २०७५ शुक्रबार १५:५८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चलचित्र निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईले केही समयअघि मात्र ४ वर्ष लामो प्रेम सम्बन्धपछि इन्गेजमेन्ट गरे । इन्गेजमेन्टअघि नै उनीहरुले कोर्ट म्यारिज भने गरिसकेका थिए । 

चलचित्र नगरीमा आउनुअघि नै यो जोडीले एक अर्कालाई चिनिसकेका थिए । इन्गेजमेन्टपश्चात यो जोडी थाइल्याण्ड घुमेर भर्खर मात्र नेपाल फर्किएको छ । चलचित्र नगरीमा त्यस्ता धेरै उदाहरणहरु छन् जो विवाहपश्चात चलचित्र नगरीबाटै बिलाएका छन् । धेरैले दिपिकालाई पनि त्यसै नजरबाट हेरे । दिपिकाले पनि विवाह गरिन् कतै अब दिपिका पनि चलचित्र नगरीबाट हराउने पो हुन कि ? 

विवाह गर्नासाथ दिपिकालाई झट्का पनि नलागेको हैन । सुरुवातमा पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा दिपिकाले काम गर्ने पक्का भएको थियो तर उनले निर्देशक दिवाकर भट्टराईसँग टीकाटालो गरेको खबर बाहिरिनासाथ उनको हातमा आएको चलचित्र खोसियो र त्यस चलचित्रमा अब नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने पक्का भइसकेको छ । उनले त्यस चलचित्रका निम्ति कागजी सम्झौता नै गरिसकेकी छिन् । 

दिपिका अभिनित चलचित्र ‘छक्का पञ्जा –३’ यतिबेला पनि चलिरहेको छ । चलचित्रले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत विभिन्न रेकर्ड राखिरहेको छ । चलचित्र ‘छक्का पञ्जा ३’ युनिटसँग पनि दिपिकाको सम्बन्ध त्यति सुमधुर हुन सकेन । अब दिपिकाले के गर्छिन् त ? धेरैको चासोको विषय बनिरहेको छ ।

दिवाकर र दीपिका पहिलेदेखि नै सँगै बस्दै आएका भए पनि विवाह भने आउँदो वर्षमा गर्ने उनीहरुको योजना छ । सन्तानका विषयमा पनि अहिले केही सोचिनसकेको नयिका दिपिका बताउँछिन् । उनी ठट्टा गर्दै भन्छिन्, ‘भर्खर त कसैकी श्रीमती बनेको छु पहिले यसको अनुभव राम्रो सँग लिउँ, आमा बन्नका लागि त अझै धेरै समय छ नि ।’ 

दिवाकरले निर्देशन गरेको चलचित्र क्याप्टेन प्रदर्शनमा आउन बाँकी नै छ । त्यसपछि दिवाकारको निर्देशनमा बन्ने अर्को चलचित्रमा भने दिपिका नै नायिकाका रुपमा हुने बताइएको छ । ‘अर्को प्रोजेक्टका निम्ति काम सुरु भइसकेको छ । अब दिपिकाले लिखित सम्झौता गर्न मात्र बाँकी छ’, निर्देशक भट्टराइको भनाई छ ।

- उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया