कानुन विपरीत काम गर्ने संस्थाका विषयमा सूचना दिन गृह मन्त्रालयको अनुरोध

 चैत २३, २०८० शुक्रबार ९:५४:३८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत काम गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध गराउन आग्रह गरेको छ । आफ्नो गाउँ ठाउँमा त्यसरी सञ्चालन भएका संस्थाले कानुन विपरीत वा गर्नुपर्ने काम नगरेको भएमा जिल्ला प्रशासन कार्यालयमा सूचना दिएर सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दर्ता भएका वर्ग, पेसा वा क्षेत्रसँग सम्बन्धित संस्था र संस्था दर्ता ऐन, २०३४ बमोजिम स्थापना भएका संस्थामध्ये कतिपयले प्रचलित कानुन र संस्थाको उद्देश्य विपरीतका कार्य गरेको, दर्ता नै नगरी कार्यक्रम सञ्चालन गरेको गुनासा आएकाले त्यस्ता संस्थाबारे नागरिकबाट सूचना माग गरिएको बताउनुभयो । उहाँका अनुसार त्यस्ता संस्थाले समयमा नवीकरण नगरेको, संस्थागत सुशासन कायम नगरेको, गैरकानुनी रुपमा विदेशी सहायता लिएको, कार्यक्रम सञ्चालन गर्दा सुरक्षा सतर्कता नअपनाएको, संस्थाको नाममा रहेका सम्पत्तिको दुरुपयोग गरेको एवम् त्यस्तो सम्पत्ति सीमित व्यक्तिको हितमा उपयोग गरेको जस्ता गुनासाहरू आउने गरेका छन ।

गृह मन्त्रालयले कुनै संस्थाले कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेको वा प्रचलित कानुन विपरीत कार्य गरेको भएमा तत्काल अनुगमन गरी प्रचलित कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिएको छ । प्रचलित कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेका संस्थाहरुले कानुन बमोजिम गर्नुपर्ने कार्य कानुनले तोकेको समयभित्रै सम्पन्न गरी आन्तरिक सुशासन कायम गर्न पनि ती संस्थालाई अनुरोध गरिएको छ ।

कानुन बमोजिम सञ्चालनमा रहेर समाज विकासका लागि योगदान गर्ने संस्थाको भूमिकाका बारेमा भने मन्त्रालयले प्रशंसा गरेको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया