महोत्तरीमा मुहान सुक्दै गएपछि पानीको सङ्कट बढ्दै, पहिले पानी नै पानी हुने ठाउँ अहिले सुक्खा

 चैत २९, २०८० बिहिबार १५:१०:२७ | रासस
unn.prixa.net

महाेत्तरी – महोत्तरीमा मुहान सुक्दै गएपछि पानीको सङ्कट बढ्दै गएको छ । गएको फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किँदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् ।

अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड गर्मीमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन् । जरुवा सुकेको छ, इनारमा पानीको सतह गहिरिँदै छ, खानेपानीका धारा चल्न छाडेका छन् ।

बाह्रै महिना पानी चल्ने जुडी जरुवामा अहिले पानीको हाहाकार भएको बर्दिवास नगरपालिका–१२ का सामाजिक, राजनीतिक कार्यकर्ता ७५ वर्षीय प्रमोदकुमार सिंहले गुनासो गर्नुभयो । यसैगरी जोकाहा जरुवा सुकेको पनि पाँच वर्ष नाघिसकेको पलारका ८० वर्षीय चौठी बाँतरले बताउनुभयो । केही वर्षअघिसम्म जोकाहा भूलकै बाँधबाट एक सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्ने गरेकोमा देख्दादेख्दै अहिले सबै कथाजस्तो भएको उहाँले सुनाउनुभयो ।

महोत्तरीका जिबछी, कुटमेश्वरी, पानीखोल्सी, हर्दी, झिल र भुताहासहितका भुलभुले पानीका जरुवा सुकिसकेका छन् । महोत्तरीका दक्षिणी भेगका पोखरीमा अझै केही पानी देखिए पनि उत्तरी क्षेत्रमा नामनिसान देखिँदैन । पोखरी, खाल्डा सबै सुकेपछि गाईवस्तुलाई नुवाइधुवाइ गराउन छोडेको भङ्गाहा नगरपालिका–४ रामनगरका ६० वर्षीय महारुद्र चौधरी थारुले भन्नुभयो ।

सामान्यतया प्रत्येक वर्षजसो वैशाख/जेठमा पानीको सङ्कट झेल्दै महोत्तरीको उत्तरी क्षेत्रका बासिन्दा यसपालि भने फागुन अन्त्यदेखि नै पानी कम हुन थालेपछि ठूलो खडेरी पर्नसक्ने चिन्ताले पिरोलिएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया