देशैभर पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रको भनाइ

 बैशाख ५, २०८१ बुधबार ८:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुगेको जनाएको छ । २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुर्‍याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो । गएको चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवम् डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत् पुस्तक पुर्‍याएको उहाँले बताउनुभयो ।

प्रबन्ध निर्देशक झाका अनुसार जनक शिक्षा सामग्री केन्द्रले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै शतप्रतिशत  पाठ्यपुस्तक छपाइ सकेर देशभर पुस्तक वितरण गरिएको छ । केन्द्रले यस वर्षका लागि एक करोड २० लाख थान पुस्तक बिक्री गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रले गएको वर्ष एक करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो ।

यस वर्ष पुस्तकको माग कम भएकाले गएको वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । गएको वर्षको स्टक र यस वर्षको छपाइ गरेर कूल एक करोड ७५ लाख थान पुस्तक केन्द्रसँग रहेकोमा अहिले ३० प्रतिशत पुस्तक स्टकमा रहेको केन्द्रले जनाएको छ ।

यस वर्ष पुरानै पाठ्यक्रमका पुस्तक रहेकाले कतिपय विद्यार्थीले गएको वर्षकै पुस्तक पनि प्रयोग गर्दा कम बिक्री भएको हुनसक्ने निर्देशक झाले बताउनुभयो । कुनै विद्यालयमा पुस्तक पुगेन भने खबर पाउनासाथ तत्काल पुर्‍याउने पनि केन्द्रले जनाएको छ । अहिलेसम्म पुस्तक पाउन नसकेको गुनासो नआएको निर्देशक झाको भनाई छ ।

सरकारले गएको वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यसवर्ष कक्षा १ देखि ४ सम्मको मात्रै दिएको थियो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया