म्याग्दीको उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो

 बैशाख ५, २०८१ बुधबार १२:२१:५९ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३-११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम शुरु गरेको थियो ।

२०७६ सालमा पोल गाडिएको थियो । ९९ घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिनुभयो । बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताउनुभयो ।

दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको बिजुली प्रयोग गर्ने गरेका थिए । नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाको समय विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजनामार्फत संरचना तयार भएपछि विद्युत वितरण गरिएको जनाएको छ । केन्द्रका इन्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताउनुभयो ।

पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि उपल्लो दुखुका सबै घरमा बिजुली बालिएको हो ।    

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया