म्याग्दीको पन्थोकमा एक दशकअघि शुरु भएको सिँचाइ आयोजनाले बल्ल गति लियो

 बैशाख ९, २०८१ आइतबार ९:२१:५१ | रासस
unn.prixa.net

रासस

म्याग्दी – मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि शुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण निर्माण कार्य अघि बढेको थिएन ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो । तत्कालीन जिविसले शुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि अलपत्र परेकोमा यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेको स्थानीय अगुवा दिलबहादुर पुनले बताउनुभयो ।

सात वर्षअघि १३ लाख रुपैयाँ खर्चेर जङ्गलेखोलाको मुहाबाट झन्डै एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट पाँच सय मिटर दुई सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप तीन सय मिटर पाइप लाइन जडान भइरहेको जानकारी दिनुभयो ।

खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनीयर अन्जन खत्रीकाअनुसार योे योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेका जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया