भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढ्यो

प्रतिपरिवार अधिकतम पाँच लाख रुपैयाँसम्म दिने

 बैशाख २२, २०८१ शनिबार १५:१२:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ । जाजरकोट, बझाङ र डोटी केन्द्रविन्दु भई गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापनाका लागि क्षति आँकलनको प्रक्रिया अघि बढाएको हो ।

विस्तृत क्षति आँकलनको अवधारणा स्वीकृत गरी अर्थ मन्त्रालयमा बजेटका लागि सहमति माग्ने निर्णय भएको समितिका सदस्यसचिव एवम् विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले जानकारी दिनुभयो ।

यो निर्णयसँगै भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन तथा स्थायी आवास लाभग्राही पहिचानको काम शुरु गर्न औपचारिक रुपमा प्रक्रिया अघि बढेको हो । प्राधिकरणका सहसचिव एवम् नीति योजना तथा अनुगमन महाशाखा प्रमुख भरतमणि पाण्डेले अर्थको सहमति आउनेबित्तिकै स्थलगतरुपमा टोली खटाइने बताउनुभयो ।

यसपटक लाभग्राही कायम गरी 'क', 'ख' र 'ग' तीन वटा वर्गमा वर्गीकरण गरी आवास पुनःनिर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो । कार्यविधिमा स्थानीय तहलाई बढी जिम्मेवार बनाइएको छ । समूह 'क' का लागि पाँच लाख, समूह ‘ख’ मा परेका लाभग्राहीका लागि चार लाख र समूह ‘ग’ मा परेका लाभग्राहीलाई तीन लाख अनुदान दिइनेछ । पुनःस्थापनको हकमा घडेरी खरिद गर्न बढीमा तीन लाख दिइनेछ । घर निर्माणका लागि सरकारी बिक्री मूल्यको ९० प्रतिशत छुटमा ४० क्यूफिट काठ उपलब्ध गराइने जनाइएको छ ।

क्षतिको प्रारम्भिक लेखाजोखा स्थानीय तहले गर्नेछ । क्षति आँकलन पनि पहिलो प्राथमिकतामा स्थानीय तहलाई दिइएको छ । स्थानीय तहले काम गर्न नसकेमा प्रदेश र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गर्नेछ । स्थानीय तहबाट आएको विवरणका आधारमा विश्लेषण गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही पहिचान र कायम गर्नेछ । त्यसपछि लाभग्राही र वडाध्यक्षबीच सम्झौता हुनेछ । सम्झौताको दुई वर्षभित्रमा पुनःनिर्माण सक्ने कार्यविधिमा उल्लेख छ ।

पुनःनिर्माणको अनुदान तीन किस्तामा सक्ने र तीन समूहमा विभाजन गर्ने कार्यविधि तयार पारिएको छ । मनसुनजन्य विपद्मा परेकाको हकमा २०७७ जेठ ३० गतेपछि, आगलागी भएकाको हकमा २०७७ मङ्सिर १ गतेपछि, भूकम्पबाट क्षति भएकाको हकमा २०७८ जेठ १ गते पछि तथा हावाहुरी, चट्याङ डुबान, बाढी, पहिरोको हकमा कार्यविधि स्वीकृत भएको मितिदेखि निजी आवास प्रबलीकरण, पुनःनिर्माण वा पुनःस्थापन लागु हुने जनाइएको छ । यसअघि २०७२ सालको भूकम्प पुनःनिर्माणका लागि पनि कार्यविधि बनाई भूकम्पको पुनःनिर्माण गरिएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया