ऐतिहासिक चुरियामाई सुरुङमार्ग अवलोकन गर्न सर्वसाधरणको लागि ख...
पुस ८, २०८१ सोमबार
लमजुङ – गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकामा रहेकाे पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न शुरु गरिएको हो ।
बागलुङपानी–घलेगाउँ जोड्ने १० किलाेमिटर कालोपत्र र घलेगाउँदेखि मर्स्याङ्दी गाउँपालिका–१ हुँदै क्व्होलासोथार–४ भुजुङ जोड्ने सात किलोमिटर सडक ग्राभेल गर्ने कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय लजमुङले जनाएको छ । कान्छाराम कन्सट्रक्सनले २०७६ सालमा ३६ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको सडक आयोजना २०७८ सालमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो ।
दुई वर्षपछि निर्माणले गति लिएको सडकको बागलुङपानीदेखि घलेगाउँतर्फ प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले बताउनुभयो । एक किलोमिटर पाँच सय मिटर दुईतर्फी र सात सय मिटर एकतर्फी कालोपत्र भइसकेको उहाँको भनाइ छ । घलेगाउँसम्म सडक चौडा, नाली, पर्खाल निर्माणलगायतका काम सकेर सब–बेस राखिसकिएको निर्माण कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार पहिरो प्रभावित तोरीबारी–खेनगी खण्डबाहेकको ठाउँमा कालोपत्र गर्ने तयारी भइरहेको छ । घलेगाउँदेखि भुजुङतर्फ ग्राभेल गर्नका लागि सडक चौडा पार्ने, नाली, पर्खाल, ग्रेड तथा घुम्ती सुधारको कामलाई तीव्रता दिइएको खण्डको सहायक निर्माण कम्पनी भरोस निर्माण सेवाका सञ्चालक भरोस खड्काले बताउनुभयो ।
सडक कालोपत्र भएपछि दुवै पर्यटकीय गाउँका स्थानीयवासीदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आउजाउ गर्न सहज हुने क्व्होलासोथार गाउँपालिका–३ का वडाध्यक्ष आशवीर गुरुङले बताउनुभयो । 'स्मार्ट गाउँ'ले चिनिने घलेगाउँ र छिमेकी भुजुङ गाउँको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने उहाँको भनाइ छ ।
सडकलाई समयमै पूर्णता दिन वडाले समन्वय र सहजीकरणको काम गरिरहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । यसअघि जिल्ला सदरमुकाम बेसीसहरदेखि बागलुङपानीतर्फ तीन किलोमिटर सडक कालोपत्र भइसकेको जनाएको छ । यस वर्ष थप १४ करोड रुपैयाँ बजेटको ठेक्का लगाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो सडकले पश्चिम लमजुङको विकास र उन्नतिमा महत्वपूर्ण टेवा पुग्ने स्थानीयवासी बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।