भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुश्किल, ‘पत्थरीको शल्यक्रियाका लागि १ वर्ष २ महिनापछिको पालो’

 साउन १४, २०८१ सोमबार १५:२६:४८ | रासस
unn.prixa.net

चितवन – चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुश्किल भएको छ । बिरामीकाे चापकै कारण अस्पतालको अर्थाेपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट पाएका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई दुई सय ५० जनाभन्दा धेरै जनाको टिकट नकाट्न निर्देशन दिनुभएको छ । हिजो टिकट काटेका एक सय जनाभन्दा धेरै बिरामी उपचार नलिई फर्किन परेकाले बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुने उहाँको भनाइ छ ।

स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै टिकटबाट सेवा लिन सकिन्छ । अर्काे दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सय जनाभन्दा धेरै बिरामी आउने बताउँदै डा. पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उहाँले स्वीकार्नुभयो ।

डा. पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था छ । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङ्गको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया