राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो, अब एक वर्षभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य

 साउन १५, २०८१ मंगलबार १५:३:८ | रासस
unn.prixa.net

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज छिचोलिएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङ छिचोलिएको हो ।

रघुगङ्गा गाउँपालिका-४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नम्बर ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडिट नम्बर २ जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमा संयुक्त रूपमा 'स्विच' थिचेर विस्फोट गराई छिचोल्नुभएको हो ।

रघुगङ्गा गाउँपालिका-३ पिप्लेमा रहेको मुख्य सुरुङको अन्तिम विन्दबाट तिल्केनीचौरमा निर्माणाधीन विद्युत् गृहमा पानी खसाल्ने पाइपलाइन राख्ने एक हजार ४९ मिटर लामो सुरुङ गएको जेठ महिनामा जोडिएको थियो ।

जलविद्युत् आयोजनामा सुरुङ निर्माण कार्यलाई प्राविधिकहरूले प्रमुख उपलब्धिका रूपमा लिइन्छ । सुरुङ छिचोलिएसँगै सिभिलतर्फ आयोजनाको ६० प्रतिशत काम सम्पन्न आयोजना प्रमुख राजबहादुर विष्टले जानकारी दिनुभयो ।

भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूणर् ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

सिभिल ठेकेदार जेपीका आयोजना प्रमुख हरिश अग्रवालले अब एक वर्षभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया