नाच्ने गीत छान्दाछान्दै दर सेलायो बरिलै.....

 भदौ १६, २०८१ आइतबार ११:५६:२४ | मिलन तिमिल्सिना
unn.prixa.net

तीज नआउँदै दर खान र नाचगान गर्न मन त थिएन, तर के गर्नु तीजमा माइत गइन्छ, यताका दिदीबहिनीसँग रमाइलो गर्ने अवसर नै मिल्दैन । त्यसैले टोलका दिदीबहिनीले आज दरखाने र नाचगान गर्ने कार्यक्रम राखेका छन् । भित्र दर पाक्दैछ, बाहिर दिदीबहिनीहरू जम्मा हुन थाले ।

दर पाक्दै गर्छ, एकछिन नाचगान गरौँ । ए दिदीबहिनीहरु ल त गीतका भाका झिक्नुपर्‍याे ।

‘साँच्चै गाउनैपर्ने हो त । ल सुन’ भन्दै बुढी आमाले पुरानो भाका झिक्नुभयो ।

....तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा
तीजको लहर आयो बरिलै........
....नेपालबाट दाजैले शिरबन्दी दाइजो पठाए,
बरिलै किन दिन्थिन भाउजूले राखिन आफैंले......
....वर्ष दिनको तीजमा बाबा लिन आएका,
बरिलै, हाम्री सासू पापिनीले शिरफूल लुकाइन्.......
....दैलोमुनि काँकरीको बिरुवा,
नचलाऊ बालले हाइ बरिलै.....
...वर्षदिनको तीज आयो बाबा लिन आएनन्,
रुँदै रुँदै घरमा बसम् कोही नि छैनन्...
......गण्डकी पारी दियौ मेरा बाबा,
हामीलाई लिन को जाला.....
....शिरै लाउने शिरफूल बाकसमा राखुँला,
यो मनको विरह केमा राखुँला.....
....तीजको रहर आयो बरिलै......
....पैतालुको खाला गयो बिझाउने बाटोले
हृदयको खाला गयो बासी आँटोले..... 
...........

यस्ता पुराना र विरह भाकामा नि के नाच्नु ? खै मोबाइलमा विष्णु माझीको गीत बजाउ त बहिनी !

आइनँ आमा यो तीजमा..........

ल यो पनि भयो, आमाले सुन्नुभयो भने के भन्नुहोला ? पर्सि माइत जानुछ, अब अहिले आइनँ आमा यो तीजमा भन्ने गीतमा के नाच्नु । त्यसमाथि १ सय ५ पल्ट त आइनँ आमा भन्नुपर्ने रैछ । अर्को बजाउ त !

काले के के बोल्यो, बोल्यो
मलाई बिस्ताराले पोल्यो............

छ्याछ्या यो रत्यौली हो कि तीजका गीत ? अर्को बजाउ !

मायाको पोको चोखो छ चोखो
बेअघि दिन्न लरी लरी लै
बेपछि जम्मै फुकाउने धोको
मेरो हुनेवालालाई दिऊँला बरिलै...........
थुक्क, के भन्या यो ? अर्को लगाउ !
...लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे
फेरि किन त्यसका बाजे तीनमहिने सुई लाउँछे........

थुक्क बेइज्जत ! अर्को बजाउ !

....तिमीलाई कुरी म बसेको 
मेरो कम्मरमा बारुलो पसेको
हेर न मलाई बारुलाले डस्यो..........

सर्पले नै डसेको भए हुन्थ्यो यस्तालाई त । अर्को बजाउ !

....बल लाएरै हो केटा बल लाएरै हो
टिकटकमा भाइरल त हल्लाएरै हो..........
.....लाली बैँस छोपेन जामाले, नक्कली भई नभन आमाले...
.....मेरो त पिठ्युँमा बेस्सरी चिलायो
बैँस पो चढ्यो कि जुम्रा पो पर्‍याे कि
ए होई कन्याइदेऊ न बाइ....
...बालेन शाहजस्तो केटो पाए पोइल गैदिन्थें.....

थुईक्क बेइज्जती हो । यस्ता पनि तीजका गीत हुन्छन् ? कतिसम्म छाडा भएका हँ ? यस्ता गीत लेख्ने, गाउनेलाई अलिकति पनि लाज लाग्दो रहेनछ है ? यस्ता गीतमा नि के नाच्नु ? अरू अलि राम्रा राम्रा बजाउ न !

....हाँसो छैन, रंग छैन, नक्कल पार्ने ढंग छैन
कसले लान्थ्यो, मै लुरीलाई.....
.....भन्न पर्ला बिस्तारै बिस्तारै
कोहीकोहीलाई मन पराउँछु साह्रै....
...कुहु कुहु कोइलीको स्वर, ओई भन्दा होई भन्दिनौ के हो र....
....कमाउने नि हो माया रमाउने नि हो.....
....नदीपारि दिए मेरा बाबैले
तर्न सकिनँ आइनँ बरिलै....
..वर्ष दिनको तीजमा, बाबा लिन आए बरिलै,
माइती घर जान्छु नि म त, सासू बिदा देऊ न बरिलै....

ल भयो, अहिलेको जमानामा पनि कसले सासूसँग बिदा मागोस् । बिदा पनि मागिन्न, नदिए पनि बसिन्न । खै अर्को गीतमा नाच्नपर्‍याे ।

ए नानी हो, दर खाने होइन ? सेलाइसक्यो त ।

गीत छान्दाछान्दै नाच्नै पाइएन नि ।

त्यही त भन्या । विरह र वेदनाका गीतमा नाच्न मन नलागेर नयाँ गीत खोजेको, सुन्नै नसकिने खालका ।

छ न त राम्रा र सभ्य खालका गीत पनि छन् नि, तर फेसबुक र युट्युब खोल्नेबित्तिकै नराम्रा र भड्किला गीत मात्रै आउँदो रैछ ।

फेसबुकमा पनि के के आउँछ के के भन्या । प्रधानमन्त्रीदेखि भुईंमान्छेसम्म सबै फेसबुकमा । एउटा मान्छेका पछि कुदेका छन् । कसैले कथा कोट्याएका छन्, कसैले व्यथा बल्झाएका छन् । कोही गरगहना र महँगा साडी देखाउँदै कमाउनेले लगाउँछ त भनेर बुरुक्क उफ्रेका छन् । कोही तीजमा विकृति भित्रियो रोक्नुपर्छ भन्छन् । कोही पहिलेकाजस्ता महिला हुन् र लुकाएर बस्ने, अहिलेका महिला त खुलेर आउनुपर्छ भन्छन् । कसको कुरा ठीक कसको बेठीक ? कुन, सही कुन गलत ? छुट्याउनै नसकिने भयो बरिलै ।

ल छोड्देउ यस्ता कुरा । घर जान बेर भयो, छिटो दर खाउँ बरिलै ।
नाच्न नपाउँदै दर सेलायो बरिलै । 
पर्सि कुन गीत बजाएर नाच्ने बरिलै ?
मोबाइलमा राम्रो राम्रो ..... छानेर त्यसमै कम्मर भाँच्ने भरिलै ।

तीजको लहर महिनौँ चल्ने रोचक कारण र तथ्यहरु !

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया