थोरै पानी परे पनि पहिरोको जोखिम उच्च : पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध

 असोज १६, २०८१ बुधबार १०:३५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि ठूलो पानी परेका क्षेत्रमा अबका दिनमा थोरै पानी परे पनि पहिरोको उच्च जोखिम रहेको जनाएको छ । साथै प्राधिकरणले पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईका अनुसार असोज १० देखिको मुसलधारे वर्षाले धेरै ठाउँमा जमिन गलेको अवस्था हुँदा अब सानो पानी परे पनि ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम कायमै रहेको बताउनुभयो ।

यात्रामा पनि पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न, ठूलो पानी पर्न लागेको बेला सुरक्षित ठाउँमा गाडी रोकेर पानी पर्ने क्रम रोकिएपछि मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्राधिकरणको अनुरोध छ । पहिरोको जोखिम भएका क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सर्न पनि प्रवक्ता डा.भट्टराईको आग्रह छ ।

मौसम पूर्वानुमानअनुसार आजदेखि पर्सिसम्म कोशी, बाग्मतीलगायतका प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज पूर्वका केही ठाउँमा पानी परेको छ । ती क्षेत्रका ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । सामान्यतया अक्टोवर दुई तारिखमा अर्थात् आजदेखि मनसुन बाहिरीने अवधि भए पनि यसवर्ष मनसुन अझै केही दिन लम्बिने भएको छ ।

गएको जेठ २८ गते पूर्वबाट मनसुन भित्रिएको थियो । गएको बिहीवार रातिदेखि शुक्रवार र शनिवार परेको अविरल वर्षाका कारण देशभर ११ अर्ब रुपैयाँ बराबरको पूर्वाधार तथा ६ अर्ब रुपैयाँ बराबरको कृषि क्षेत्र गरी १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

देशभर अहिलेसम्म दुई सय २८ जनाले ज्यान गुमाएका छन् । अझै २५ जनाको अवस्था थाहा हुन सकेको छैन ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया