वर्ष २०८१ : राजनीतिक उथलपुथल, राजा फर्काउनेदेखि पूर्वराष्ट्रपति राजनीतिमा फर्कनेसम्ममा चर्चा

 चैत ३१, २०८१ आइतबार १८:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज २०८१ सालको अन्तिम दिन । राति १२ बजेदेखि २०८२ साल शुरू हुँदैछ । राजनीतिमा उतारचढाव, भ्रष्टचारका काण्डहरूको चर्चा र छानबिन तथा विशिष्टहरू पक्राउ, अर्थतन्त्रमा केही सुधार देखिनु लगायतका कारण २०८१ साल विशेष वर्ष बन्यो । आज हामी सकिँदै गरेको २०८१ सालका केही मुख्य घटना तथा अवस्थालाई सम्झदैछौँ ।

शुरूमा चर्चा गरौँ राजनीतिको

२०८१ साल नेपाली राजनीतिक इतिहासमा महत्त्वपूर्ण रह्यो । नेपालको संसदीय इतिहासमै पहिलोपल्ट पहिलो र दोस्रो ठूलो दल मिलेर असार ३० गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । उहाँले कहिले एमाले र कहिले नेपाली कांग्रेससँग मिलेर सरकार चलाइरहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विस्थापित गर्नुभएको हो ।

संसद्को पहिलो र दोस्रो दल मिलेपछि प्रतिनिधिसभामा बलियो बहुमतमा छ । तर राष्ट्रियसभाका कारण सरकारलाई आफूले ल्याएको अध्यादेश पारित गर्न हम्मेहम्मे भयो । पुस र माघमा ल्याएका ६ वटा अध्यादेशमध्ये एउटा निष्क्रिया नै भयो भने बाँकी ५ वटा पनि अन्तिम समयमा बल्ल बल्ल कानूनमा रूपान्तरण भए ।

सङ्घीय संसद् र प्रदेशसभाले आफ्नो आधा कार्यकाल बिताइसके पनि बनाउनुपर्ने कानूनको चाङ अझै अग्लो छ । २०८१ साल सङ्घीय संसद्देखि प्रदेशसभासम्मै विधायिकी कामभन्दा सरकार गठन र विघटनको विवादमा अलमलिएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले पनि नागरिकको चाहना र भावना अनुसार काम गर्न सकेको छैन ।

दुई पटक देशको उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका रवि लामिछाने २०८१ सालमा दुई पटक पक्राउ परे । उनलाई सहकारी रकम ठगी र अपचलनको मुद्दा छ । ८० दिनभन्दा बढी थुनामा बसेर धरौटीमा रिहा भएका लामिछाने चैत २२ गते फेरि पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणले २०८१ सालमा नेपालको राजनीतिलाई तरङ्गित बनायो । यस्तै कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनाले पनि राजनीतिमा ठूलै चर्चा र प्रभाव पार्‍याे ।

२०८१ सालमा भएको अर्को महत्त्वपूर्ण राजनीतिक घटना हो राजावादीहरूको सक्रियता । राजावादीहरूले चैत १५ गते काठमाण्डौको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भयो । त्यही घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू रवीन्द्र मिश्र, धवलशमसेर जबरासँगै आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि पक्राउ परेका छन् ।

यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्कन गरेको प्रयासले पनि २०८१ सालमा निकै चर्चा पायो ।

यस्तै देशभरका क्याम्पसमा स्ववियू चुनाव पनि भएको छ । वर्षको अन्तिम समयमा देशभरका शिक्षकहरू काठमाण्डौमा भेला भएर गरिरहेको प्रदर्शन पनि राजनीतिमा चर्चाको विषय बनेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान्घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्दा सरकारले धेरै आलोचना सहनुपर्‍याे ।

अब चर्चा गरौँ २०८१ को अर्थतन्त्र

कोभिड–१९ महामारीयता मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यस वर्ष केही सुधारका सङ्केत देखिए पनि समग्र स्थिति अझै शिथिल अवस्थामै छ । वृद्धिदरमा आंशिक सुधार भए पनि आर्थिक पुनरुत्थानले स्थायित्व प्राप्त गर्न सकेको छैन ।

ब्याजदर घटाइरहँदा पनि बैंक तथा वित्तीय संस्थाहरूमा तरलता झनै थुप्रिएको छ । २०८१ सालमा लगानीको वातावरण मापन गर्ने सार्वभौम साख मूल्याङ्कनमा 'डबल बी माइनस' अङ्क प्राप्त गर्नु नेपालका लागि उपलब्धिपूर्ण रह्यो भने सम्पत्ति शुद्धीकरण मामिला हेर्ने वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को 'ग्रे लिस्ट' मा पर्नु दुर्भाग्यपूर्ण रह्यो ।

देश सार्वजनिक ऋणको भारीले झनै थिचिएको छ । सहकारी, लघुवित्तलगायत वित्तीय संस्था पीडितहरूले वर्षैभरि आन्दोलन गरिरहे पनि न्याय पाएका छैनन् । मूल्यवृद्धिदर घट्नु, आयात–निर्यातमा सुधार, रेमिट्यान्स बढ्नु जस्ता सबल पक्ष भए पनि समग्रमा अर्थतन्त्र लयमा आउन सकेको छैन । यस वर्ष असारपछि शेयर बजारमा सुधार आयो । २०८१ सालमा पर्यटकको सङ्ख्यामा वृद्धि र होटल क्षेत्रमा लगानी वृद्धि सकारात्मक विषय बनेको छ ।

२०८१ ऊर्जा क्षेत्रमा विवाद र आशाको वर्ष बनेको छ । धेरैजसो समय ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबीच विवाद रहे पनि २०८१ साल समग्रमा ऊर्जा क्षेत्रका लागि आशाप्रद रुह्यो । सन् २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको महत्त्वाकाङ्क्षी ‘ऊर्जा मार्गचित्र’ कार्यान्वयनमा आएको छ । नेपालको बिजुली बङ्गलादेश पुगेको छ । लामो समयदेखि रोकिएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खोलिएको छ । तर डेडिकेटेड र ट्रङ्कलाइनको महसूल विवाद, प्राधिकरणको नेतृत्व परिवर्तन विवाद तथा बूढीगण्डकी, नलगाड, माथिल्लो अरुण, दूधकोशीजस्ता ठूला आयोजना शुरू गर्ने लक्ष्य राखिए पनि कार्यान्वयनमा जान नसक्नुजस्ता समस्या रहे । यस्तै बाढी पहिरोले विद्युत् गृह तथा प्रसारण लाइनमा ठूलो क्षति पुर्‍यायाे ।

अब कुरा गरौँ विपद्को

२०८१ साल विपदका दृष्टिमा दुखद रह्यो । चितवनमा दुई वटा यात्रुबाहक बस पहिरोले त्रिशूलीमा बिलायो । असोजको दोस्रो हप्ताको वर्षाले विशेषगरी काठमाण्डौ उपत्यका र आसपासमा ठूलो जनधनको क्षति गर्‍याे । २०८१ सालमा भएका विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १  वर्षमा ८ हजार ८६१ वटा विपद्का घटना भएकामा ७४५ जनाको ज्यान गएको हो ।

ती घटनामा परी ६९ जना बेपत्ता भएका र १ हजार ७०२ जना घाइते भएका छन् । १ वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित भएका छन् । कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढी, असोज दोस्रो हप्ताको वर्षा, सुक्खा हिउँदजस्ता वर्षाजन्य विपद् तथा अवस्थाहरू यो वर्ष चर्चा र चिन्ताका विषय बनेका छन् ।

अब स्वास्थ्य क्षेत्रको चर्चा गरौँ

२०८१ सालमा स्वास्थ्य क्षेत्रले केही उपलब्धि, विवाद र वैदेशिक सहायता अनुदान कटौतीको असर बेहोर्नुपर्‍याे । यस वर्ष स्वास्थ्य बीमाको चर्चासँगै वरिष्ठलाई पन्छाएर कनिष्ठलाई स्वास्थ्य सचिव नियुक्ति गरिएको विषय विवादका रूपमा देखियो ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको उपलब्धता र जडीबुटी कम्पनीमा आगजनीलगायत घटनाले यस वर्ष चर्चा पाएका हुन् । यो वर्ष झन्डै १७ लाख किशोरीले एचपीभी खोप निःशुल्क लगाएका छन् । सरकारले अस्पतालहरूलाई स्वास्थ्य बीमाबापतको रकम तिर्न नसकेपछि दिगो स्रोतको बारेमा बहस भइरहेको छ ।

खुशीको कुरा नेपालले बालबालिकामा हुने क्यान्सरको उपचार गर्न एक वर्षका लागि तीन किसिमका अत्यावश्यक औषधि प्राप्त गरेको छ । यस्तै सरकारले मस्तिष्क पक्षघात (ब्रेनस्ट्रोक) भएका नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउने भएको छ । यस्तै सरकारले जलन प्रभावित नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । स्तन क्यान्सरको वंशानुगत परीक्षण (जिन सिक्वेन्सिङ) अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सम्भव भएको छ ।

स्वास्थ्य क्षेत्रलाई यो वर्ष अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले झड्का दिएको छ । यूएसएआईडीले सहयोग रोकेपछि स्वास्थ्य क्षेत्रका कार्यक्रममा दीर्घकालीन असर पर्ने देखिन्छ । पोषण, खोप, नवजात तथा मातृशिशु स्वास्थ्य, प्रजनन स्वास्थ्यलगायत कार्यक्रमा प्रभाव पर्ने देखिएको हो ।

अब चर्चा गरौँ चलचित्र बजारको

२०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा सुखद रहेको छ । यस वर्ष प्रदर्शन भएको चलचित्र पूर्णबहादुरको सारङ्गीले ४६ करोड ८० लाख रुपैयाँ कारोबार गरेको तथ्याङ्क छ । चलचित्र क्षेत्रमा यो ऐतिहासिक उपलब्धि हो । अरू चार वटा चलचित्र १० करोड रुपैयाँभन्दा धेरैको व्यापार गर्न सफल भएका छन् । बक्स अफिसको तथ्याङ्कानुसार १२ गाउँले १९ करोड ९२ लाख, छक्कापञ्जा–५ ले १५ करोड २० लाख र बोक्सीको घरले १० करोड दुई लाख रुपैयाँको व्यापार गरेको छ । चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६२ वटा नेपाली चलचित्र प्रदर्शन भएका छन् ।

चलचित्र जस्तै सङ्गीत बजार पनि सुखद रह्यो । यस वर्ष ४ वटा नेपाली गीत विश्वव्यापी रूपमा ट्रेन्डिङमा जानुजस्ता उपलब्धिहरूले यो वर्ष विशेष रह्यो । २०८१ साल नेपाली सङ्गीतको पुनर्जागरणको वर्ष बनेकाे र आजको पुस्ताले सङ्गीतलाई गहिरो भावनात्मक सम्बन्धबाट हेर्न थालेका छन् ।

२०८१ मा खेल क्षेत्रको अवस्थाबारेमा चर्चा गरौँ

यो वर्ष नेपाली खेलकुद क्षेत्र परिणामका हिसाबले मिश्रित बन्यो । केही सुखद कुरा भए भने केही दुःखद । यो वर्ष हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तीन पटक सरेर अर्को वर्षका लागि धकेलियो ।

भलिबल, खोखो, सेपाकताक्रो, कबड्डी र तेक्वान्दोका लागि यो वर्ष ऐतिहासिक रह्यो । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पारालिम्पिक्समा कांस्य पदक जितिन् । काभा महिला भलिबल नेशन्स लिगमा नेपाल फाइनलमा पराजित भए पनि उत्कृष्ट प्रदर्शन गर्‍याे । महिला भलिबलमा यो वर्ष नेपालले २ वटा उपाधि जित्यो । पहिलो पटक भएको काभा महिला क्लब भलिबल नेपाल पुलिस क्लबले जित्यो । नेपालले महिला काभा बिच भलिबलमा पनि स्वर्ण जित्यो ।

थाइल्यान्डमा भदौ १६ देखि २३ गतेसम्म भएको सेपाकताक्रो विश्वकपमा नेपालले १ स्वर्ण र ३ कांस्य जित्यो । माघ पहिलो हप्ता भारतको नयाँ दिल्लीमा भएको खोखो विश्वकपमा नेपाल पुरुष र महिला दुवैतर्फ उपविजेता बन्यो । नेपालले महिला एशियाली कबड्डी च्याम्यिनशिपमा कांस्य जित्यो । यस्तै यो वर्ष नै पहिलो पटक पुरुषको फ्रेन्चाइज कबड्डी लिग भयो ।

यस वर्ष नेपाली पुरुष टोलीले दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो । समूह ‘डी’ मा दक्षिण अफ्रिकासँगको १ रनको हारले नेपालले टेस्ट राष्ट्रलाई हराउने अवसर गुमाएको छ ।

यस्तै नेपाली महिला टोली १९ वर्षमुनिको टी–२० विश्वकपमा पहिलो पटक छनोट भएको थियो । तर विश्वकपमा भने नेपालले समूह चरणमा सबै खेल हार्‍याे ।

यस्तै नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता यस वर्षको खेल क्षेत्रको महत्त्वपूर्ण उपलब्धि रहेको छ । पहिलो संस्करणमै चर्चित विदेशी खेलाडी अनुबन्ध हुँदा एनपीएलले निकै चर्चा पायो ।

वर्षको अन्त्यमा हङकङमा सम्पन्न चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगे पनि नेपाल उपाधि जित्नबाट चुक्यो ।

वर्षको अन्तिमतिर सरकार र नेपाल ओलम्पिक कमिटीबीचको विवादले खेलकुद प्रशासन अस्तव्यस्त रह्यो । यही विवादका कारण अहिलेसम्म १४औं दक्षिण एशियाली खेलकुदमा सहभागिताबारे नेपालले निर्णय गर्न सकेको छैन ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया