सुनको भाउ ताेलाकाे २ लाख नजिक, एकैदिन ६ हजार ९ सय रुपैयाँ...
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएसँगै आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्ने सरकारी प्रयास अलपत्र भएको छ ।
शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित तीन हप्तादेखि आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्ने पहल भइरहँदा मन्त्री भट्टराईले हिजो पदबाट राजीनामा दिनुभएको हो ।
राजीनामापत्रमा स्वास्थ्य समस्या देखाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको असन्तुष्टिका कारण उहाँ पद छोड्न बाध्य भएको बुझिएको छ ।
भट्टराईले आन्दोलनरत शिक्षक महासङ्घका प्रतिनिधिसँग संवाद गरेर विद्यालय शिक्षा विधेयक पारित गर्नेसहित शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा प्रस्ताव तयार पार्नुभएको थियो ।
प्रस्तावमा शिक्षकको मर्यादाक्रम कायम गर्ने, निजामती अस्पतालमा शिक्षकको उपचार गर्ने व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकको बिरामी बिदाको रकम अवकाशपछि दिने व्यवस्था गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक दिने, शिक्षकलाई निजामती कर्मचारी वा त्योसरह ग्रेड उपलब्ध गराउने र सामाजिक सुरक्षामा आबद्ध गर्नेलगायतका निर्णय मन्त्रिपरिषद्बाट गर्न सकिने विषय समेटिएको छ ।
शिक्षकहरूसँगको लगातारको छलफलपछि शिक्षामन्त्रीले हिजोको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने कार्यक्रम थियो । तर, उहाँको राजीनामापछि मन्त्रिपरिषद बैठकमा प्रस्तावहरू जान सकेन र शिक्षक आन्दोलनबारे कुनै निर्णय भएन । यो प्रस्तावमा प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय सकारात्मक भएका छैनन् ।
शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएपछि शिक्षा मन्त्रालय नेतृत्वविहीन बनेको छ भने शिक्षकहरूसँगको वार्ता तथा छलफलको कार्यक्रम रोकिएको छ ।
शिक्षकहरूको आन्दोलनको कारण विद्यार्थी भर्ना अभियान, पर्सिदेखि शुरू हुने कक्षा १२ को वार्षिक परीक्षाको तयारी, एसइईको उत्तरपुस्तिका परीक्षण जस्ता महत्त्वपूर्ण शैक्षिक गतिविधि प्रभावित भएका छन् । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक अहिले बस्दैछ ।
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैँसेपाटीको मन्त्री निवास छोड्नुभएको छ ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएपछि उहाँ सरकारी गाडी छोडेर सीधै आफ्नो निजी निवासमा जानुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।