काङ्ग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

 मंसिर २७, २०७५ बिहिबार ६:३१:४२ | रासस

काठमाडौं - नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो । 

महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो । 

यस्तै अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ ९सबुज० को संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो । 

विधान मस्यौदाका सम्बन्धमा मङ्सिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेको छैन । 

विशेषगरी पदाधिकारी सङ्ख्या बढाउने÷नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ । आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ । 

केन्द्रीय समितिबाट पारित सबै प्रतिवेदन महासमिति बैठकमा पेश हुने र छलफल गरी पारित हुनेछन् । स्थानीय व्यवस्थापन समितिले महासमिति बैठकको अन्य तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० सहभागी हुने पार्टी कार्यालयले जनाएको छ । बैठकको प्रचारप्रसार, स्वागतद्वार निर्माण, प्रकाशनलगायत अन्य सामग्रीको तयारी र सहभागीको खाना, चिया, खाजाको व्यस्थापनको तयारी भइसकेको काठमाडौँ काङ्ग्रेसका सभापति बानियाँले जानकारी दिनुभयो । 

महासमिति बैठकको उद्घाटन मङ्सिर २९ गते 

यसैबीच काङ्ग्रेसले महासमिति बैठकको कार्यक्रम तालिका आज सार्वजनिक गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रम तालिका अनुसार मङ्सिर २८ गते काङ्ग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता एवं स्वागत हुनेछ । मङ्सिर २९ गते बिहान ११ बजे सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन हुनेछ । 

त्यस्तै उद्घाटन समारोह समापनलगत्तै सोही स्थानमा बन्दसत्र प्रारम्भ हुने र त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्रको छलफल चल्ने पार्टी कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया