पुष १ गतेदेखि ९७ प्रतिशत सार्वजनिक गाडी अवैध हुँदै, रुट परमिट खारेजीको तयारी

 मंसिर २७, २०७५ बिहिबार १७:४३:७ | टेकमान शाक्य
unn.prixa.net

यातायात कम्पनीका रुपमा दर्ता भएकाे दीगाे यातायात

काठमाडौं – कम्पनीका रुपमा यातायात कम्पनीमा दर्ता गरी यातायात कार्यालयमा सूचिकृत नगर्ने गाडीको रुट परमिट खारेज हुने भएको छ । 

सूचिकृत गर्ने समय ३ दिन मात्रै बाँकी हुँदा यातायात व्यवस्था विभागले यस्तो प्रतिक्रिया दिएको हो । पुष १ गतेबाट सूचिकृत नहुने सबै गाडीहरु अवैध हुने भन्दै विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले उज्यालोसँग भन्नुभयो, ‘सरकारले दिएको समयभित्र प्रक्रियामा नआएका सबै गाडीलाई कारबाही गर्छौँ ।  उनीहरुको रुट परमिट खारेज हुन्छ । बाँकी दिनमा प्रक्रियामा आइसक्न सबैसँग आग्रह गर्छौँ ।’

पुष १ गतेदेखि समितिमार्फत सञ्चालन भएका सबै गाडीलाई सरकारले कब्जा गर्ने पनि विभागले जनाएको छ । प्रक्रियामा नआउनेहरुलाई फेरि समय थप गर्ने भन्ने कुनै छलफल नभएको प्रवक्ता उपाध्ययले बताउनुभयो । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य गर्न भन्दै सरकारले कम्पनी दर्ता गरी यातायात कार्यलयमा सूचिकृत हुन मंसिर मसान्तसम्मको समय दिएको छ । 

९७ प्रतिशत गाडी अवैध हुँदै

यातायात व्यवस्था विभागको तथ्यांक अनुसार पुष १ गतेदेखि ९७ प्रतिशत गाडीहरु अवैध हुँदैछन् । अहिले भएका ४ लाखभन्दा बढी गाडीमध्यै ७ हजार मात्रै सूचिकृत भएका छन् । यातायात कार्यालयमा अहिलेसम्म झण्डै ३ प्रतिशत मात्रै सूचिकृत भएका विभागका प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । उहाँको भनाई अनुसार पुष १ गतेपछि प्रालिमा दर्ता नगरी यातायात कार्यलयमा सूचिकृत नगरी सञ्चालनमा आउने झण्डै ९७ प्रतिशत गाडी कारबाहीमा पर्न लागेका हुन् । 

व्यवसायीहरु छलफलमा

सरकारले दिएको समयसीमाभित्र सूचिकृत हुन नसकेपछि यातायात व्यवसायीहरु अब के गर्ने भन्ने छलफलमा जुटेका छन् । यो विषयमा अहिले नै भन्न नसकिने भन्दै यातायात व्यवसायी सरोज सिटौलाले भन्नुभयो, ‘हामी अहिले पनि यसै विषयमा छलफल गरिरहेका छौँ । हामी भोलि पनि छलफलमा बस्छौँ । छलफलले जे निर्णय गर्छ, त्यही हुन्छ । अहिले नै यस्तो गर्छौँ भनेर भन्न सक्दैनौँ ।’ 

यही मसान्तभित्र नै सबै गाडी सूचिकृत भैसक्ने वा समय थप गर्न सरकारलाई आग्रह गरिने भन्ने विषयको निचोड छलफलले दिने उहाँले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया