लोकमार्ग आसपास होटल बढे, लगानी थपिए

 पुष १६, २०७५ सोमबार ६:३८:३२ | रासस
unn.prixa.net

तेह्रथुम – निर्माणाधीन मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटल र लज सञ्चालनमा आउने क्रम बढ्दो छ । व्यवसायीले सडक आसपास होटलमा लगानी गर्न थालेका छन् । लोकमार्गको ट्र्याक खोलेर धुले सडकमा सवारी गुड्ने थालेसँगै व्यवसायीले पर्यटक लक्ष्यित रिसोर्ट र होटलहरुमा लगानी गर्न थालेका हुन् ।

सडक आसपासका स–साना बजारहरुमा रहेका होटलहरुले समेत लगानी बढाएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले कालान्तरमा ग्राहकको चाप बढ्ने सोचेर होटलमा लगानी बढाएको उनीहरु बताउँछन् । मध्य पहाडी लोकमार्गको करीव १३५ किलोमिटर खण्ड तेह्रथुममा मात्रै पर्छ ।

यो सडक आसपासका बस्तीहरुले समेत बजारको रुप लिने क्रम बढेको छ । सडक आसपासका मुख्य व्यापारिक केन्द्रहरु सक्रान्ति, म्याङलुङ्ग, वसन्तपुर, जिरिखिम्ती, लसुनेलगायत बजारहरु तीब्र गतिमा फैलिँदैछन् । यस्तै, सानो बस्तीको रुपमा रहेका चुहानडाँडा, इवा, छातेढुङ्गा, सक्रान्ति, ओयाक्जुङ, इसिवु, हलिमेला लगायत गाउँमा पनि शहरीकरण बढ्दो छ । शहरीकरण हुँदै गरेका ती बजार र पर्यटकीय सम्भावना भएका ठाउँहरुमा होटल र रिसोर्टहरु खोलिएका हुन् ।

स्थानीयबासीकै लगानीमा समेत सडक आसपास साना–ठूला होटल, पसल, लज, रिसोर्ट खोल्ने क्रम शुरु भएको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर सुरेश तुम्बाहाम्फेले बताउनुभयो । 'ठाउँठाउँमा ग्रामीण बजारको विस्तार र व्यवसाय गर्नेको सङ्ख्या वृद्धि भएको छ,' उहाँले भन्नुभयो । लोकमार्गको खोरुंगा खोला नजीकै खोरुंगा खोला रिसोर्ट खुलेको छ ।

स्थानीय दुई युवा दाजुभाइले ४० लाख रुपैयाँ भन्दा बढी लगानी गरी खोलेको रिसोर्ट अहिले आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ हुने गरेको छ । सदरमुकाम म्याङलुङ्ग नजीकै भएकाले पनि साताको शनिबार रिसोर्टमा भीड लाग्छ । खोरुंगामा पौडी खेल्ने, माछा खाने, घुम्ने र रमाइलो गर्नेहरु खोलामा पुग्ने गर्छन् ।

म्याङलुङ र जिरिखिम्ती बजारको मध्यभागमा टुक्रे नजीकै बगाले होटल खुलेको छ झण्डै एक करोड रुपैयाँको लगानीमा । लसुने बजार नजीकै दुई वर्षयता पर्यटक लक्ष्यित कालापानी रिसोर्ट सञ्चालित छ । उच्च पहाडी क्षेत्रमा पाइने ट्राउट माछाको व्यावसायिक पालनसहित सञ्चालित सो रिसोर्ट पनि पर्यटकलाई सत्कार गर्न व्यस्त रहन्छ ।

रिसोर्टमा आफूले ५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको सञ्चालक धर्मराज खड्का बताउनुहुन्छ । लोकमार्ग निर्माण हुने भएपछि वसन्तपुर बजारका पेम्बा छिरिङ भोटियाले पनि होटलमा लगानी थप्नुभएको छ । पाँच करोड रुपैयाँ लगानी गरेर होटलमा सुविधा थप गरेको उहाँले बताउनुभयो । “लोकमार्ग निर्माण हुने भएपछि मानिसहरुको आवतजावत बढ्ने भएकाले होटलमा लगानी थपेको हुँ,” उहाँले भन्नुभयो । 

अब भोटियाको यो होटल जिल्लाकै एकमात्र सुविधायुक्त होटल बनेको छ । लोकमार्गले सदरमुकाम म्याङलुङलाई समेत छोएर जाने भएपछि ब्लु–हेवन होटलका सञ्चालक रोमभगत प्रधानाङ्गले पनि पहिलेको होटल भत्काएर सुविधासम्पन्न होटल निर्माण गरिरहनुभएको छ । होटलमा तीन करोड रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने र सुविधायुक्त बनाउने तयारी रहेको उहाँले बताउनुभयो ।

सात वर्ष अघिसम्म जिल्लाकै दुर्गम मानिएको तत्कालीन चुहानडाँडा गाविसमा यतिबेला मध्यपहाडी लोकमार्गका कारण निकै चहलपहल छ । बजारमा घरहरु थपिँदा छन् । होटल तथा पसलसमेत खुल्ने क्रम जारी छ ।

यसले एकातिर आर्थिक गतिविधिलाई बढाएको छ भने अर्कोतर्फ बसाइसराई रोकिएको छ । लोकमार्गले छोएका विभिन्न ठाउ“मा साना बजारहरु विस्तार भएर व्यापार गर्नेको भीड बढिरहेको आठराई गाउँपालिका–४, इवाका वडाध्यक्ष श्यामकुमार भट्टराईले बताउनुभयो । 'सडक नहुँदा उपभोग्य बस्तु खरिद गर्न पाँचथर पुग्नुपर्थ्याे, अहिले घरदैलोमै सडक आयो' भट्टराई भन्नुहुन्छ 'सडकसँगै टोल–टोलमा बजार बनेका छन् ।' 

आठराई गाउँपालिकाका बासिन्दा लोकमार्गको ट्र्याक खुलेर सवारी नआउञ्जेलसम्म दैनिक उपभोग्य वस्तु लिनकै लागि डेढ दिन पैदल हिँडेर पाँचथरको फिदिम पुग्थे । तर अहिले यहाँबाट दैनिक दर्जनौँ सवारीका साधनहरु फिदिम हुँदै झापा, दमक, विराटनगर र धरानसम्म पनि पुग्ने गरेका सक्रान्तिबजार उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । 'सडक आएपछि विकासको गति बढ्यो । व्यवसायीले लगानी पनि गर्न थालेका छन् ।' लोकमार्ग आसपास आठराई गाउँपालिकाका विभिन्न ठाउँमा मात्रै दर्जनौँ होटलहरु थपिएका उहाँले जानकारी दिनुभयो ।

चुहानडाँडामा पछिल्ला दुई वर्षमा १० वटा नयाँ घर निर्माण भएर स–साना होटलहरु सञ्चालनमा आएका स्थानीय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कृष्ण बाँस्कोटाले बताउनुभयो । सक्रान्ति बजारमा पनि पाँच वटा नयाँ होटल थपिएका छन् । लोकमार्गकै इसिवु र ओयाक्जुङ खण्डमा पनि पसल, व्यवसाय र होटल खुल्ने क्रम वृद्धि भएको फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले बताउनुभयो ।

सडकको पहुँच वृद्धि भइरहेकै कारण व्यवसाय जम्ने देखेर लोकमार्ग आसपासमा धेरैले होटल व्यवसायमा लगानी बढाएका तेह्रथुम उद्योग वाणिज्य सङ्घका पुर्वअध्यक्ष महेन्द्र काफ्लेले बताउनुभयो । “तमोर नदीले छोएका गाउँ–गाउँमा समेत शहरीकरण हुँदैछ, गाउँमै पनि सानो पूँजीबाटै पसल, होटल र व्यवसाय सञ्चालन गर्नेहरु बढेका छन्,” उहाँले भन्नुभयो । लोकमार्गको आसपास पछिल्लो पाँच वर्षको अवधिमा एकसय भन्दा बढी साना–ठूला होटलहरु खुलेका छन् ।

सडक निर्माणसँगै सवारीसाधनमा आउने यात्रुका कारण लोकमार्ग आसपासका बजार क्षेत्रमा ग्राहकको चाप वृद्धि भएको जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो । सडकले गाउँमा व्यापार राम्रो हुने भएपछि गाउँ छाडेर पूर्वी तराईमा व्यवसाय गर्नेहरु पनि गाउँ फर्किन थालेका छन् । 

लोकमार्गले गाउँमा बढिरहेको बसाइसराई रोकेको छ भने यहाँ कमाएर जिल्ला बाहिर लगानी गर्नेहरु घटेका छन् । नेपाल र भारतको सीमा क्षेत्र पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने यो सडक खण्ड निर्माणसँंगै गाउँमा विकासको लहर शुरु भएको समन्वय समितिका प्रमुख ढुंगानाको मूल्याङ्कन छ । लोकमार्गले छोएका गाउँमा जग्गाको मूल्य समेत अकाशिएको छ । रासस

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया