सन् २०१८ का चर्चित घटना : चीनको आफ्नै चन्द्रमादेखि ट्रम्प–किम वार्तासम्म

 पुस १६, २०७५ सोमबार १९:४७:२९ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – सन् २०१८ मा विश्वकप फुटबलको रोमाञ्चकताले विश्वकै खेलपारखीहरुको मन जित्न सफल भयो ।

रुसमा भएको विश्वकपको आयोजना भव्य मात्रै भएन, नयाँ नयाँ टोलीले सनसनीपूर्ण प्रदर्शनले त विश्वकपलाई झनै रमाइलो बनायो ।  त्यस्तै सन् २०१८ मा महिला हिंसाविरुद्ध मि टू अभियानदेखि थाइल्याण्डको गुफामा फसेका फुटबल खेलाडीहरुको उद्धारसम्मका घटनाले चर्चा पायो । 

सन् २०१८ मा विश्वमा घटेका केही चर्चित घटना र गतिविधिलाई हामीले समेट्ने प्रयास गरेका छौँ । 

विश्वकप फुटबल २०१८

प्रत्येक चार–चार वर्षमा हुने विश्वकप फुटबलको २१ औँ संस्करण सन् २०१८ मा रुसमा सम्पन्न भयो । १४ जुनबाट सुरु भएर १५ जुलाईसम्म चलेको खेलमा जम्मा ३२ वटा टिम सहभागी थिए । रुसका विभिन्न ११ शहरमा १२ रंगशालामा जम्मा ६४ खेल सम्पन्न भएका थिए ।

प्रतियोगिताको अन्तिम खेल जुलाई १५ मा मस्कोको लुजिन्की स्टेडियममा फ्रान्स र क्रोएसियाबीच भएको थियो । क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै खेलको उपाधि फ्रान्सले जितेको थियो । चार वर्षको पर्खाइपछि सम्पन्न भएकाले पनि यस वर्ष विश्वकप फुटबलले बढी नै चर्चा बटुल्यो । 

पत्रकार खसोग्गीको हत्या 

साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्याले यस वर्षको अक्टोबर महिना समवेदनाले भरिपूर्ण रह्यो । निकै नै चतुर्याइँपूर्वक गरिएको उनको हत्याले पूरै पत्रकारिता जगतमा सन्नाटा छायो । सन् १९५८ मा अक्टोबरमै जन्मेका उनको २०१८  अक्टोबर २ तारिखका दिन इस्तानाबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा हत्या गरियो । 

पत्रकार खसोग्गीको जस्तै भेष धारण गरेर दूतावास प्रवेश गरेको मान्छेले उनको हत्या गरेको थियो । तर उक्त हत्या कसले गरेको हो र कुन उद्धेश्यले गरेको हो भन्ने अझै पत्ता लाग्न सकेको छैन । तर साउदी सरकारकै एक एजेन्टले हत्या गरेको भनिएको छ ।

ट्रम्प–किम भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच जुन १२ तारिखका दिन सिंगापुरमा भेटवार्ता भएको थियो । अमेरिकाको विरोधी मानिदै आएको उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने ट्रम्प अमेरिकाकै पहिलो राष्ट्रिपति हुन् । उत्तर कोरियाले परमाणु निशस्त्रीकरण गर्नपर्ने उद्धेश्यका साथ उक्त बैठक बसेको थियो । 

विश्व शान्तिका लागि विशेष भेट मानिएको यस वार्ताले अन्तर्राष्ट्रिय स्तरमा निकै नै चर्चा बटुलेको थियो । सिंगापुरको होटल क्याम्पेलामा भएको उनीहरुबीचको भेटवार्तालाई सुरक्षा दिन नेपाली मूलका सिंगापुर सेना खटिएका थिए । 

गुफामा फसेका खेलाडीको उद्धार

यसै वर्ष १२ बालकसहित एक जना प्रशिक्षक गरी १३ जनाको टिम थाइल्याण्डको एक गुफामा फसेको थियो । यस घटनाले पूरै विश्वको ध्यान आकर्षण गर्यो । जुन २४ तारिखका दिन हराएका उनीहरुको उद्धारको लागि विभिन्न देशबाट सुरक्षा टोलीहरु खटिएका थिए । 

बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले  बालकहरु सुरक्षित भएको जानकारी दिएको थियो । हराएको दुई हप्तापछि उनीहरुको उद्धार भयो । सकुशल उद्धार गरेको भन्दै विश्वभरबाट  गोताखोरहरुलाई बधाई दिएका थिए । 

मि टू अभियान 

महिलाले आफूमाथि भएको यौनहिंसाबारे खुलेर बोल्ने मि टू अभियानले यो वर्ष सबैभन्दा बढी चर्चा बटुल्यो । हलिउड निर्माता हार्भे विन्स्टिनमाथि अभिनेत्रीहरुले लगाएको यौन हिंसाबाट मि टू अभियान सुरु भएको थियो ।

त्यसपछि बलिउड नायिका तनुश्री दत्ताले बलिउड नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उनले पाटेकरमाथि मि टू ह्यास ट्याग लागाइन् । त्यसपछि लामो समयदेखि ओझेलमा परेको मि टू अभियान बलिउड क्षेत्रमा आगोझैँ सल्कियो । बलिउडका नामी हस्ती, खेलाडी, उद्योगपतिदेखि नेताहरु सबैलाई यसले छोयो । यसको असरले नेपालमा पनि निकै तहल्का मच्चायो । 

वर्षकै चर्चित विवाह

यो वर्ष बेलायती राजकुमार ह्यारीको विवाह सबैको चासोको विषय बन्यो । दयालु स्वभावका ह्यारीको अमेरिकी अभिनेत्री मेगन मर्केलसँगको विवाहले देशविदेशमा निकै नै चर्चा बटुल्यो । 

मे १९ तारिखका दिन उनीहरुको विवाह सम्पन्न भएको थियो । बेलायतको राजधानी लण्डनबाट भण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर दरबारमा भएको विवाहमा ६ सय विशिष्ट पाहुना सहभागी भएका थिए । यस्तै विवाहित जोडीलाई बधाई दिनको लागि त्यहाँका सडकमा लाखौँको संख्यामा मानिसहरु उपस्थित भएका थिए ।

बलिउड नायिका प्रियंका चोपडा हलिवुड नायक निक जोनससँगको विवाहले पनि यो वर्ष उत्तिकै चर्चा बटुल्यो । डिसेम्बर १ र २ गते उनीहरुले जोधपुरको उमेद प्यालेसमा विवाह गरेका थिए । 

क्यालिफोर्नियाको जंगलमा आगलागी 

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोलाई सीएनएनले इतिहासकै  विनाशकारी डढेलो नामाकरण गरेको छ । करिब ७ लाख ६६ हजार हेक्टरमा फैलिएको डढेलोका कारण त्यहाँका ६० हजारभन्दा बढी मानिसहरु विस्थापित भए ।

आगलागीमा परि ९८ सर्वसाधारणसहित ६ जना आगो निभाउने कर्मचारीहरुको मृत्यु भएको थियो । क्यालिफोर्नियाको सरकारी निकायले आगलागीबाट ३.५ करोड डलर रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

एकैसाथ सुपरमून, ब्लूमून र चन्द्रग्रहण

वर्ष २०१८ को सुरुमै अर्थात ३१ जनवरीमा भएको एक दुर्लभ खगोलीय घटनाले विश्वकै ध्यानाकर्षण गरेको थियो । आकाशमा एकैपटक चन्द्रग्रहण, सुपरमून, ब्लूमून र ब्लडमून देखिनु वैज्ञानिकहरुको लागि महत्वपूर्ण मानिएको थियो ।  

यस्तो घटना सन् १९०० पछि पाँच पटक मात्र भएको थियो । अब २५ वर्षपछि मात्र यस्तो दुर्लभ चन्द्रग्रहण देखिने वैज्ञानिकहरुले बताएका छन् । 

पाकिस्तानमा नयाँ नेतृत्व

हुन त यस वर्ष विश्वका कतिपय देशका सरकारले आफ्नो नेतृत्व परिवर्तन गरेको छ । तर यस वर्षको त्यस्ता नेतृत्वहरुको चर्चामा भने  पाकिस्तानी प्रधानमन्त्री इमरान खान नै रहे ।

पूर्व क्रिकेट खेलाडी रहेका इमरान खानले आफू शत्तामा आएपछि देशवासीको हितमा चालेका कदमले उनको लोकप्रियता बढाएको हो । उनले चलाएको अभियान ‘नयाँ पाकिस्तान’ ले आलोचना सँगसँगै प्रशंसा पनि बटुलिरहेको छ । अगस्ट १८ तारिखमा उनी पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । 

चीनले आफ्नै कृत्रिम चन्द्रमा र सूर्य बनाउने 

चीनको सिचुवान प्रान्तको राजधानीमा वैज्ञानिकहरुले कृत्रिम चन्द्रमा राख्ने खबरले दुनियाँलाई आश्चर्यचकित बनायो । त्यो समाचार अनुसार सूर्यका  किरणहरुलाई चन्द्रमामा पारेर त्यहाँबाट प्रतिबिम्बित गराई पृथ्वीमा प्रकाश पार्ने वैज्ञानिकहरुले बताएका छन् । त्यो चन्द्रमा पृथ्वीको ५ सय किलोमिटर टाढाबाट आफ्नो अक्षमा रहेर पृथ्वीको परिक्रमा गर्ने र वास्तविक चन्द्रमाभन्दा आठ गुणा बढी चम्किलो हुने अनुमान गरिएकोे छ । 

वैज्ञानिकहरुले सन् २०२० सम्ममा आफ्नै कृत्रिम चन्द्रमा बनाउने भन्ने समाचारले अक्टोबर महिनाभरी विश्वको ध्यान तान्यो ।

यस्तै चीनले आफ्नै सूर्य पनि बनाउने भन्ने खबरले सन् २०१८ मा सनसनी मच्चायो । वास्तविक सूर्यभन्दा यो सूर्य ६ गुणा बढी तातो हुनेछ । 

चीनको एकेडेमी अफ साइन्ससँग सम्बन्धित इन्स्टिच्यूट अफ् प्लाज्मा फिजिक्सकका अनुसार कृत्रिम सूर्यको परीक्षण भइरहेको छ । यसलाई वास्तविक सूर्यझैँ डिजाइन गरिएको छ । एउटा मेसिनमा राखेर परमाणुको विखण्डनद्वारा यसलाई तातो पारिनेछ । यो मेसिन चलाउनको लागि एकदिनको खर्च भने १५ हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । 

सन् २०१८ मा गुमाएका चर्चित व्यक्तिहरु

कोफी अन्नान

शान्ति तर्फको नोबेल पुरस्कार विजेता तथा संयुक्त राष्टसंघका सातौँ महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा २०१८ अगस्ट १८ तारिखका दिन निधन भयो । उहाँको निधनले विश्व कुटनीतिक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । 

अटल बिहारी वाजपेयी

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा २०१८ अगस्ट १६ तारिखमा निधन भयो । भारतलाई पारमाणिक रुपमा शक्तिशाली बनाउनमा उहाँको प्रमुख योगदान रहेको थियो ।

जर्ज एच.डब्लू बुश

यस्तै अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एच.डब्लू. बुशको ९४ वर्षको उमेरमा यसै वर्षको नोभेम्बर ३० तारिखका दिन निधन भयो । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाका राष्ट्रपति रहेका थिए ।

तत्कालीन सोभियत संघ र अमेरिकाबिचको शीतयुद्ध अन्त्य गर्नमा उनको भूमिका उल्लेखनिय मानिन्छ । जर्ज एच. डब्लू. बुश अमेरिकाका ४३ औंँ राष्ट्रपति जर्ज डब्लु. बुशका बुवा हुन । 

स्टेफन हकिन्स

यस वर्ष भौतिकशास्त्री स्टेफन हकिन्सको निधनले भौतिक विज्ञानको क्षेत्रमा ठूलो क्षति भयो । ‘अ ब्रिफ हिस्ट्री अफ् टाइम’ का लेखक र ब्ल्याक होल सिद्धान्तका प्रतिपादक हकिन्सको  ७६ वर्षको उमेरमा मार्च १४ तारिखका दिन निधन भयो । उनलाई अल्बर्ट आइन्सटाइनपछि दुनियाँकै सबैभन्दा शक्तिशाली भौतिक वैज्ञानिक मानिन्छ ।

भारतमा समलैंगिकतालाई मान्यता

भारको सर्वोच्च अदालतले सेप्टेम्बर ५ मा अपराध मानिएको समलिङ्गी सम्बन्धलाई मान्यता दियो । यो खबरले विश्वव्यापी रुपमा हलचल मच्चायो । लामो संघर्षपछि आफूले अधिकार पाएको भन्दै भारतमा समलिङ्गीहरुले भव्य रुपमा खुशियाली मनाए । सर्वोच्च अदालतको यस निर्णयलाई इतिहासकै महान निर्णय भनिएको थियो । 
फ्रान्समा आन्दोलन

फ्रान्स सरकारले तेलको मूल्यमा वृद्धि गरेको भन्दै त्यहाँका हजारौँ नागरिक सरकारविरुद्ध आन्दोलनमा उत्रिए । आन्दोलनकर्ताहरुले प्रहरीमाथि आक्रमण मात्र गरेनन् सवारी साधन र भौतिक संरचनामा आगजनी गरे ।

त्यहाँको प्रसिद्ध स्मारक अख द ट्रियोम्फमा पनि तोडफोड गरे । यो डिसेम्बर महिनाको कुरा हो । आन्दोलनलाई रोक्न फ्रान्समा आपतकालीन संकटकाल घोषणा गर्नुपर्यो । 

श्रीलङ्कामा राजनीतिक संकट 

श्रीलङकाका राष्ट्रपतिले एकाएक त्यहाँको प्रधानमन्त्री परिवर्तन गरेको खबरले विश्व राजनीतिमा खैलाबैला मच्चायो । आर्थिक नीति र दैनिक प्रशासनको विवादलाई लिएर राष्ट्रपति मैत्रिपाला सिरसेना र प्रधानमन्त्री रनिल विक्रमासिंघेबीच लामो समयदेखि विवाद चखिरहेको थियो ।  

राष्ट्रपति सिरसेनाको सत्तारुढ दल आफैले गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गर्ने निर्णय गरेका थिए । सिरसेनाको पार्टी र तत्कालीन प्रधानमन्त्री विक्रमासिंघेको पार्टीले सत्ता गठबन्धन गरेका थिए तर आफ्नै पार्टीले सरकार छोड्ने निर्णय गरेपछि सिरसेनाले आफ्नै प्रतिस्पर्धी महिन्द्रा राजापाक्षेलाई अक्टोवर २६ मा प्रधानमन्त्रीमा नियुक्त गरेका हुन । 

इण्डोनेसियामा सुनामी

इण्डोनेसियामा आएको सुनामीमा धेरै मानिसले ज्यान गुमाउँदा यो वर्षको अन्त्य दुखद भयो । डिसेम्बर २२ तारिखमा इण्डोनेसियामा गएको सुनामीमा परेर करिब चारसय जनाले ज्यान गुमाए भने सयौँको मात्रामा अपाङ्ग र त्यो भन्दा बढी घरबारविहीन भए ।

क्रकाटोवा ज्वालामुखी विस्फोटपछि समुन्द्रभित्र गएको पहिरोका कारण सुनामी आएको अनुमान त्यहाँका अधिकारीहरुले गरेका छन् । अझै त्यहाँ ज्वालामुखी विस्फोट हुनसक्ने भन्दै त्यहाँका जनतालाई अन्तै विस्थापन गर्ने कार्यमा सरकार लागिपरेको छ ।

-एजेन्सीकाे सहयाेगमा
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया