हिन्दी प्रवेश गराएर मैथिली भाषाको हत्या गर्न दिँदैनौँ : रक्षामन्त्री पोखरेल

 पुस २५, २०७५ बुधबार १९:४६:२० | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले संविधान कार्यान्वयन गरेर आवश्यक परे परिमार्जन गर्दै आर्थिक रुपमा देशलाई समृद्ध बनाउने बताउनुभएको छ । 

सिरहाको कर्जन्हा–५, बस्तीपुरमा आयोजित किसान नेता जयगोविन्द साहको २९ औँ स्मृति सभालाई सम्वोधन गर्दे प्रवक्ता श्रेष्ठले कम्युनिष्ट सरकारले नै देश समृद्ध बनाउने भन्दै संविधान कार्यान्वयन गर्दै आवश्यक परे संशोधन गरेर भए पनि देशलाई समृद्ध बनाउनु पर्ने बताउनुभएको हो । 

श्रेष्ठले भन्नुभयो, ‘यही सरकारले नेपाल समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराब कामहरुको आलोचनात्मक ढंगले विरोध गर्नुपर्ने हुन्छ ।’

नेताहरुबीचको मतभेदको कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको हुनसक्ने बताउँदै नेता श्रेष्ठले  सरकार परिवर्तको कुनै सम्भावना नभएको भन्दै प्रधानमन्त्री केपी ओली नेतृत्वले नै पाँच वर्ष सरकार चलाउने बताउनुभयो । 

हाम्रो राष्ट्रिय अखण्डतालाई टुक्र्याउन खोज्ने, देशलाई विखण्डन गर्न खोज्ने कुनै पनि तत्व र शक्ति सैह्य नहुने बताउनुभयो । विखण्डनकारीविरुद्ध एकढिक्का बनाउनुपर्ने बताउँदै नेता श्रेष्ठले त्यसको नेतृत्व आफ्नो पार्टी र सरकारले गर्ने जनाउनुभयो । 

स्मृति दिवसरलाई सम्बोधन गर्दै नेपाल सकरका उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अहिलेको सरकारले कानुन अभावमा धेरै काम गर्न नसकेको बताउनुभयो । उहाँले अहिलेको सरकार सरकार परिवर्तन मात्र नभएर संयन्त्रसहितको परिवर्तन भएको बताउनुभयो ।  उहाँले सरकारले फागुन मसान्तभित्र सबै कानुन बनाएर विकास निर्माणका कामलाई तीव्रता दिने बताउनुभयो ।

मन्त्री पोखरेलले आफ्नो सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यान्वयन गर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले समाजिक सुक्षाभत्ता पाँच हजार बनाउने भनेका छौँ, त्यो यही सरकारले पुरयाउँछ ।’

मन्तव्यकै क्रममा मन्त्री पोखरेलले अंगिकृत नागरिकता बाँडेर नेपाली नागरिकलाई नै अल्पमतमा पार्ने पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अंगिकृत नागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौँ । सरकारले विदेशी बुहारीलाई भने अंगिकृत नागरिकता दिने निर्णय गरिसकेका छौँ ।’ 

नेपाल बहुजाति, भाषा, धर्म भएको देश भएको भन्दै मन्त्री पोखरेलले हिन्दी भाषाको प्रवेश गराएर आफ्नै मैथिली भाषाको हत्या गर्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तराईका धेरै मानिसले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथिली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई ‘हलाल’ गर्न दिन्नौँ ।’

किसान नेता जयगोविन्द साहको २०४६ साल पुस २५ गते निधन भएको थियो । भारतको जयनगरमा निधन भएको उहाँको शव तत्कालीन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएको थिएन ।

स्मृतिसभामा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री विश्वनाथ साह, धर्मनाथ साह, प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य रामकुमार यादव, दिलिप साह लगायतले वन्तव्य व्यक्त गरेका थिए ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया