श्रम सम्झौता बारे छलफल गर्न नेपाली टोली ओमान प्रस्थान

 माघ १२, २०७५ शनिबार १२:३:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – ओमान र युएईसँग गरिने श्रम सम्झौताबारे छलफल गर्न नेपाली टोली शनिबार ओमान गएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली बिहान ओमान गएको हो ।

सम्झौताका लागि ओमानले दुई महिनाअघि खाका पठाएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वको पाँच सदस्यीय टोलीले ओमानको प्रस्तावमा छलफल गरेर आफ्नो प्रस्ताव तयार पारेको छ ।

नेपालले ओमानसँग श्रमिकमाथि व्ययभार तथा ठगीमा नपर्ने गरी श्रम सम्झौता गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । एमओयूमा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बीमा, महिना पूरा भएको निश्चित समयमा तलब बैंक खातामै दिनुपर्ने व्यवस्था र राहदानी कामदारले राख्न पाउने गरी प्रस्ताव गरिने मन्त्रालयले जनाएको छ ।

शनिबार ओमान गएको नेपाली टोलीले आइतबार र सोमबार वार्ता गर्नेछ । ओमासँगको वार्तापछि टोली त्यतैबाट यूएई जानेछ । यूएईसँग बुधबार र बिहीबार छलफल हुनेछ । यूएईसँग भने यसअघि भएको श्रम समझदारी नवीकरणका लागि छलफल हुने मन्त्रालयले जनाएको छ ।

यूएईसँग सन् २००७ मा एमओयू भएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक जाने देशहरुसँग श्रम सम्झौता गर्ने र भएका समझदारीहरुको पनि नवीकरण गर्ने निर्णय गरेपछि यूएईले डेढ महिनाअघि नवीकरणका लागि एमओयूको मस्यौदा पठाएको थियो । दुवै देशसँग गरिने सम्झौता र समझदारीमा शून्य लागतलाई जोड दिने सरकारले जनाएको छ ।

टोलीले वार्ता गरेर नेपालको प्रस्तावमा छलफल गरेपछि सहमति गर्न सकेमा दुवै सरकारको मन्त्रीस्तरमा हस्ताक्षर हुनेछ । काठमाण्डौमा सम्पन्न नेपाल कोलम्बो प्रोसेसको बैठकले शून्य लागतमा कामदार पठाउने निर्णय गरेको र जीसीएम (ग्लोबल कम्प्याक्ट फर माइग्रेसन) का धेरै सदस्य देशहरु पनि शून्य लागत कार्यान्वयन गर्न सहमत भएकाले नेपालले कामदारलाई आर्थिक भार नपर्ने गरी शून्य लागतमा समझदारी गर्न लागेको हो ।

सरकारले यसअघि मलेसियासँग दुई पक्षीय श्रम सम्झौता  गरिसकेको छ । सम्झौता भएको लामो समयसम्म पनि कामदारका लागि मलेसिया जाने बाटो नखुलेको भन्दै आलोचना भइरहे पनि सरकारले आउँदो मार्चदेखि कामदार जान पाउने बताएको छ । मलेसियाले मार्चबाट नयाँ प्रणालीमार्फत कामदार लान सुरु गर्ने भएकाले त्यसपछि नेपालीका लागि मलेसियाको रोजगारी खुल्ने मन्त्रालयको भनाई छ ।

यसैविच नेपालले कतारसँग पनि पुनः श्रम सम्झौता गर्न आन्तरिक तयारी गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । फागुन १५ भित्रै नेपाल र कतारका प्राविधिक टोलीबिचमा छलफल हुनेछ ।

कतारसँग यसअघि सन् २००५ मा श्रम सम्झौता भएको थियो । तर सम्झौताले नेपाली कामदारको सुरक्षाका विषय समेट्न नसकेकाले सरकारले कतारसँग फरी नयाँ श्रम सम्झौता गर्ने भएको हो ।

 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया