ओमानसँगको श्रम सम्झौताको मस्यौदामा छलफल सुरु

 माघ १३, २०७५ आइतबार १७:५४:५१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई –  श्रम सम्झौताको मस्यौदामा छलफल गर्न ओमान पुगेको नेपाली टोलीले आइतबार ओमानमा छलफल सुरु गरेको छ । 

शनिबार पुगेको  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वको टोलीले ओमानको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गरेको हो । छलफल सोमबार पनि हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

छलफलमा नेपालबाट आएको ५ सदस्यीय प्राविधिक टोलीसँगै दूतावासकी नियोग उपप्रमुख रोजिना ताम्राकार तथा श्रम सहचारी कृष्णकुमारी गौली पनि सहभागी हुनुभएको दूतावासले जनाएको छ । 

सम्झौताका लागि ओमानले दुई महिनाअघि पठाएको खाकामा नेपालले आफ्नो बिषय राखेर प्रस्ताव तयार गरेको छ । सोही प्रस्तावमा राखिएका बिषयमा छलफल सुरु भएको र सोमबार पनि छलफल गरेर मस्यौदालाई अन्तिम रुप दिने टोलीको तयारी छ । 

प्रस्तावमा दुवै देश सहमत भए मन्त्री स्तरिय भ्रमण गराएर सम्झौतामा हस्ताक्षर गरिने ओमानका लागि राजदूत शर्मिला पराजुली ढकालले उज्यालोलाई जानकारी दिनुभयो । सोमबार ओमानसँगको छलफलपछि टोली मंगलबार यूएई आउने कार्यतालिका छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया