पश्चिमी र स्थानीय वायुको प्रभावले बारामा भीषण हावाहुरी चलेको मौसमविदको भनाइ

 चैत १८, २०७५ सोमबार ११:४४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो । जल तथा मौसम पूर्वानुमान महाशाखाले यति ठूलो हावाहुरी चल्छ भनेर पूर्वानुमान गरेको थिएन।

आइतबार बिहान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जानकारी दिएको थियो । प्रिमनसुनी समय भएकाले साँझपख हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने पनि महाशाखाको पूर्वानुमान थियो ।

तर यति ठूलो क्षति पुर्याउन सक्नेगरी हावाहुरी आउने अनुमान नगरेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्याल बताउनुहुन्छ । 

‘एक्कासि यति ठूलो हावाहुरी कसरी चल्यो ?’ महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भन्नुभयो ‘वायुमण्डलको माथिल्लो भूभागमा पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको प्रभाव हुँदा माथि चिसो हावा र तल तातो हावा ‘ओभरटर्निङ’ भएर हावाको बेग धेरै हुन गयो । यसैकारण ठूलो हावा चल्यो ।’

हावाहुरीको पूर्वानुमान गर्न किन सकेनन् मौसमविदले ?

सामान्यतया वायु उच्चचापीय क्षेत्रबाट न्यूनचापीय क्षेत्रमा बहने गर्छ । जमिन तातेपछि जमिनको हावा माथि जान्छ । त्यो हावा माथि वायुमण्डलमा गएपछि तल जमिन केही खाली हुन खोज्दा त्यहाँ न्यूनचापीय क्षेत्र बन्ने गर्दछ । न्यूनचापीय क्षेत्रमा आसपासको उच्चचापीय क्षेत्रबाट हावा बहन्छ ।

सामान्यतया प्रिमनसुनमा खोला, खोँच र पहाडी क्षेत्रमा धेरै हुरी चल्ने गर्छ । बिहानै चर्को घाम लागेपछि जमिन तात्दा दिउँसो बहने हावा माथि जान्छ । चिसो हावा भने तल आउने गर्छ । तर राति उल्टो गरी बहन्छ । 

आइतबार साँझ पश्चिमी वायु र स्थानीय वायुको प्रभावले न्यून र उच्चचापीय क्षेत्र बन्दा बारामा भुमरीजसरी हावा चलेको मौसमविदको भनाइ छ ।

 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया