कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुईजना पक्राउ

 चैत २८, २०७५ बिहिबार १२:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गर्दै कर्तव्य ज्यान मुद्दामा फरार रहेका २ प्रतिवादीलाई सार्वजनिक गरेको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका बस्ने ४१ वर्षका नवराज थापा गएको असोज २० गते सम्पर्कविहीन भएका थिए । त्यसपछि उनको खोजतलास गर्दै जाँदा गएको पुस २९ गते मेलम्ची वडा ९ बसेउरास्थित ऐँसेलु घारीमा शव भेटिएको थियोे । 

घटना शंकास्पद देखिएको र कसैले मारेर फालेको हुनसक्ने भन्दै मृतकका बाबु ककरबहादुर थापाले पीडकलाई खोजी गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै जाहेरी दिएका थिए । त्यसलगतै जिल्ला प्रहरी कार्यालयको मातहतमा इलाका प्रहरी कार्यालय मेलम्चीले प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटेको टोलीले घटनामा संलग्न व्यक्तिहरुलाई गएको चैत २६ गते पक्राउ गरेकाे थियो ।

सार्वजनिक हुनेमा मेलम्ची ९ डब्ल्याङ बस्ने ४० वर्षका विष्णु भन्ने ताहा बहादुर भण्डारी र २४ वर्षका विनोद गिरी रहेको प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया