एउटै भवनको भुइँतलामा चारवटा बोर्ड, बोर्ड केन्द्रमा तर कार्यालय भने वडामा

 चैत २८, २०७५ बिहिबार १७:१६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – आमा समूहले उपलब्ध गराएको भवनको भुइँतला । त्यही तलाको दुईवटा कोठामा तीनवटा कार्यालय सञ्चालन । ती पनि सरकारी कार्यालयका शाखाहरु । बाहिर चारवटा बोर्ड, भित्र तीनवटा शाखा कार्यालय । कार्यालय प्रमुखदेखि लेखाको एउटै कार्यकक्ष । स्टोर शाखा पनि त्यही कोठामा । त्यो सँगै सेवाग्राही विभिन्न सेवा लिनका लागि आउने र त्यहीँबाट सेवा लिने । यसरी एकै ठाउँबाट सेवा प्रवाह गर्दा कत्तिको सहज वा पीडा होला ?

यस्तै–यस्तै पीडाका बाबजुद पनि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सञ्चालित सरकारी कार्यालयका शाखाहरुलाई एकै ठाउँबाट सर्वसाधारणहरुलाई सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ । अन्नपूर्ण–६ पोखरेबगरमा भवन अभावले गर्दा एकै ठाउँमा कोचिएर शाखा कार्यालयहरु सञ्चालन गरिएको हो । 

गाउँपालिकाको कार्यालयबाट नजिकै रहेको कालीगण्डकी आमा समूह भवनको तल्लो तलामा दुईवटा कोठा छन् । आमा समूहले कार्यालय सञ्चालनका लागि प्रयोग गर्न मिल्ने गरी आफ्नो भवनको भुइँतलामा रहेका दुईवटा कोठा उपलब्ध गराएको छ । समूहले उपलब्ध गराएको भुइँतलाको एउटा कोठामा कृषि र पशु सेवा शाखाका दुईवटा शाखा सञ्चालनमा रहेका छन् भने अर्को कोठामा स्वास्थ्य शाखा सञ्चालन गरिएको छ । 

तर बाहिर स्वास्थ्य, आयुर्वेद, पशु सेवा र कृषि शाखाको बोर्ड झुण्ड्याइएको छ । तीन वटामध्ये आयुर्वेदको भने अन्नपूर्ण–३, दानामा कार्यालय रहेको कर्मचारीहरु बताउँछन् । दानामा आयुर्वेदको शाखा कार्यालय सञ्चालन गरिए पनि पोखरेबगरमा बोर्ड झुण्ड्याइएको छ । 

आमा समूहले उपलब्ध गराएको तल्लो तलाको दुईवटा कोठा, त्यसमा पनि स्वास्थ्य, पशु सेवा र कृषि शाखाको कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा प्रस्टै बुझिन्छ, सेवा प्रवाह कत्तिको सहज होला ? अनि सेवा प्रवाह गर्नेलाई पनि काम गर्न कत्तिको सजिलो हुन्छ ? 

पशु सेवा शाखा अन्नपूर्ण गाउँपालिकाका संयोजक कृष्ण चौधरीले कार्यालय र स्टोर एकै ठाउँमा हुँदा काम गर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले कार्यालय प्रमुखको कार्यकक्षदेखि लेखा र स्टोर एकै ठाउँबाट सञ्चालन गर्नुपर्ने अवस्थाका कारण काम गर्न एकदमै समस्या भएको बताउनुभयो । कार्यालय भवन निर्माण नहुँदासम्म यस्तै समस्या भैरहने उहाँको भनाइ छ । 
    
यता अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले पोखरेबगरमा घर भाडामा नपाइने हुँदा एकै ठाउँमा कार्यालय राखेर कार्यसम्पादन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । उहाँले अहिले कामचलाउ गरिएको हुँदा आगामी आर्थिक वर्षदेखि नयाँ संरचना निर्माण गरेरै भए पनि गाउँपालिका अन्तर्गतका शाखा कार्यालयहरुलाई व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

पोखरेबगरको कुनापट्टी १५ रोपनी जग्गा रहेको हुँदा त्यसैमा अस्थायी संरचना निर्माण गरेर शाखा कार्यालयहरु स्थानान्तरण गरिने उपाध्यक्ष मगर बताउनुहुन्छ । 

स्टोरले गर्दा झनै समस्या

भुइँतलाको दुईवटा कोठामध्ये एउटा स्वास्थ्य शाखा र अर्को कृषि तथा पशु सेवा शाखाले प्रयोग गर्दै आइरहेका छन् । कृषि र पशु सेवा शाखाले प्रयोग गर्ने कोठामा स्टोर पनि सञ्चालन गरिएको छ । स्टोरमा कृषि र पशुपन्क्षीका लागि आवश्यक विषादी तथा औषधि र उपकरणहरु राखिएको छ ।

कृषि र पशुसम्बन्धी विभिन्न विषादी एवं औषधिहरु एकै ठाउँमा राखिँदा काम गर्ने क्रममा औषधि र विषादीको दुर्गन्धले समस्या आएको कर्मचारी बताउँछन् । खासगरी पशुसम्बन्धी विषादीहरु धेरै हुने भएकाले विषादीसँगै बस्नुपर्दा धेरै गाह्रो भएको पशु शाखाका संयोजक चौधरीको भनाइ छ । 

दानामा कार्यालय, पोखरेबगरमा बोर्ड

स्वास्थ्य, कृषि र पशु सेवाको बोर्ड झुण्ड्याइएको ठाउँमा आयुर्वेद शाखाको पनि बोर्ड झुण्ड्याइएको छ । संघीयता कार्यान्वयन हुनुपूर्व नै तत्कालीन दाना गाविसमै आयुर्वेद शाखा कार्यालय रहेको हुँदा पछि जनप्रतिनिधिकै रोहवरमा दानामै कार्यालय यथावत् राखिएको बताइएको छ । 

गाउँपालिका केन्द्रको हिसाबले पोखरेबगरमा कार्यालय सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अफिसियल कामकाजका हिसाबले बोर्ड राखिएको आयुर्वेद शाखाका संयोजक सुर्यमणि शाहले बताउनुभयो । उहाँका अनुसार पहिले केही समय १५ दिन दाना र १५ दिन पोखरेबगरमार्फत सेवा दिने प्रयास गरिए पनि समस्या भएपछि अहिले दानामै बसेर सर्वसाधारणलाई सेवा प्रवाह भैरहेको छ ।

दानाका जनप्रतिनिधिहरुले दानामै आयुर्वेदको शाखा कार्यालय राख्नुपर्ने अडान लिएपछि पुरानै ठाउँमा गाउँ कार्यपालिकाको निर्णय अनुसार कार्यालय सञ्चालन गरिएको उहाँले बताउनुभयो । पोखरेबगरबाट दाना पुग्न सवारीसाधनमार्फत आधा घण्टाको समय लाग्छ । 

केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित गरी नागरिकलाई सहज सेवासुविधा उपलब्ध गराउने भन्दै नेपालमा संघीयता आए पनि त्यसको कार्यान्वयनका लागि पर्याप्त भौतिक संरचनाहरु नहुँदा सेवा प्रवाहमै समस्या उत्पन्न भैरहेको छ ।

गाउँपालिका अन्तर्गतका विभिन्न शाखा कार्यालयहरु एकै ठाउँमा नभई छरिएर रहेको हुँदा सेवा प्रवाह गर्न तथा सेवा लिन आउने नागरिकलाई सास्ती भएको छ । गाउँगाउँमा सिंहदरबार भनेर गफ चुटे पनि त्यो अनुसार नहुँदा नागरिकको समस्या उस्तै छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया