नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

 चैत २८, २०७५ बिहिबार १६:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । 

प्राधिकरणले इन्टरनेट प्रदायकहरुलाई पत्र पठाउँदै पब्जी खेल डाउनलोड र खेल्ने कार्यका लागि रोक लगाउन निर्देशन दिएको हो ।  

प्राधिकरणले बिहीबार सबै इन्टरनेट प्रदायकलाई पत्र पठाएको छ । धेरै बालबालिका तथा युवालाई यो खेलको लत लागेर दुर्घटनासम्म हुने गरेको भन्ने प्रहरीमा उजुरी आउन थालेपछि खेलमा प्रतिबन्ध लगाउन लागिएको हो ।  

कस्ताे खेल हाे पब्जी ?

अचेलका युवा तथा किशोर–किशोरीहरुमाझ प्रिय बन्दै गएको भर्चुअल खेल हो पबजी (PUBG) । यो अनलाइनको माध्यमद्वारा मोबाइल तथा कम्प्युटरमा खेलिन्छ ।

यो खेल खेल्न थालेपछि खेल्ने मान्छेमा चाँडै नै यसको लत बस्छ । त्यसपछि उनीहरुले आफ्नो खानपिनसमेत भुल्छन्, अर्थात आफ्नो महत्वपूर्ण कामको पनि उनीहरुलाई वास्ता हुँदैन । जसले गर्दा उनीहरुमा विभिन्न मानसिक समस्या उत्पन्न हुन थाल्छन् ।

‘प्लेयर अननोन ब्याटलग्राउण्ड’ अर्थात छोटकरीमा पब्जी भनिने यो खेल व्यस्त दुनियाँमा सबैभन्दा बढी खेलिने अनलाइन खेल बन्दै गएको छ । समूहमा खेलिने यस खेलप्रतिको लोकप्रियताले बालबालिकाहरुमा गलत प्रभाव पार्दै आएको मनोचिकित्सकहरु बताउँछन् । मनोचिकित्सकहरुका अनुसार यो खेल खेल्नेहरुको मानसिक तथा शारीरिक विकासमा नकारात्मक असर पर्ने गरेको छ ।

नेपालमा यस खेलले पारेको प्रभावबारे कुनै अध्ययन गरिएको छैन । तर यस खेलबारे सामाजिक सञ्जालमा शेयर हुने भिडियोका आधारमा यहाँ पनि खेल्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

भारतको नेसनल हेल्थ एण्ड न्यूरो साइन्सको प्रतिवेदनले यस खेलले पारेका समस्याबारे १ सय २० भन्दा बढी समस्या दर्ता भएको जनाएको छ । रिपोर्टमा यो खेल खेल्नेहरुको मानसिक अवस्था बिग्रेको पाइएको छ । उनीहरुको तथ्याङ्कका अनुसार ६ वर्षका बालक देखि ३२ वर्षीया युवाहरुले यो खेल खेल्ने गरेका छन् ।

यस खेलको बढ्दै गरेको लतका कारण नेपालमा पनि युवाहरुमा मानसिकसम्बन्धी विभिन्न समस्या देखिन थालेका छन् । 

पब्जी खेलका कारण हुने सामान्य समस्या यसप्रकार छन् :

  • निद्रामा कमी तथा निन्द्रा सम्बन्धी विभिन्न समस्या
  • विद्यालय तथा क्याम्पसमा अनुपस्थिति बढ्नु
  • अनावश्यक कुरामा पनि रिस उठ्नु
  • सामान्य कुरामा पनि झर्किनु, साथीभाइ तथा घरपरिवारका सदस्यसँग असमान्य व्यवहार देखाउनु ।

यो खेल विश्वभरिका खेलाडीहरुसँग खेल्न मिल्छ र सबैको समय क्षेत्र फरक–फरक हुन्छ । नेपालका युवाहरु अमेरिकन तथा युरोपियन खेलाडीहरुसँग खेल्नको लागि भए पनि रातको दुई–तीन बजेसम्म नसुतेरै भर्चुअल खेलमा रात बिताउँछन् ।

यसले उनीहरुको निन्द्रा मात्र बिगार्दैन, यसको नकारात्मक असर रक्तचापदेखि मधुमेह जस्ता रोगहरुको पनि संक्रमण निम्त्याउँछ । पर्याप्त निद्रा नपुग्दा एकाग्रतामा कमी आउने र सम्झने शक्तिमा पनि ह्रास आउने चिकित्सकहरु बताउँछन् ।

यस्तै खेलमा देखाइने हतियारका कारण बच्चाहरुको दिमागमा हिंसात्मक विचार उत्पन्न गराउने र यसले उनीहरुमा नैराश्यता पैदा गराउँछ ।

याे पनि पढ्नुहाेस्

‘PUBG’ माथि प्रतिबन्ध लगाउन माग गर्दै ११ वर्षीय बालकले गरे अदालतमा मुद्दा दर्ता

PUBG खेलकाे लत : मानसिक समस्याको खतरा !

मानसिक स्वास्थ्यका लागि घातक बन्दै PUBG

लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया